अभियान संवाददाता
काठमाडौं । ६ बीमा कम्पनीले २ करोड १० लाख ५८ हजार ८ सय ३७ दशमलव १४ कित्ता हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् । पूँजी वृद्धिको अभियानमा रहेका यी कम्पनीले हकप्रद निष्कासनका लागि निवेदन दिएका हुन् । सिद्धार्थ इन्स्यारेन्स कम्पनी लिमिटेडले १० बराबर ३ दशमलव ५ को अनुपातमा २२ लाख ४४ हजार ९ सय ७३ दशमलव ५० कित्ता हकप्रद निष्कासनका लागि माघ २१ गते सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले सो हकप्रदका लागि विक्री प्रबन्धक एनएमबी क्यापिटललाई जिम्मा दिएको छ । बुधवार भएको नेप्से कारोबारमा यस कम्पनीको शेयर मूल्य रू. ८ सयमा कारोबार भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ७ रहेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ बराबर १ को अनुपातमा २९ लाख ७० हजार कित्ता शेयरको निष्कासनका लागि सेबोनमा भदौ ९ गते निवेदन दिएको छ । कम्पनीको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको बुधवार शेयर मूल्य रू. ७ सय ४९ मा कारोबार भएको छ भने प्रतिशेयर आम्दानी रू. १२ दशमलव ९ रहेको छ ।
साथै, हकप्रद वितरणका लागि अनुमतिको पर्खाइमा रहेको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता शेयरका लागि सेबोनमा पुस ४ गते निवेदन दिएको छ । कम्पनीले सेबोनमा चाहिने प्रमाणपत्र पेश गरिसकेकाले कम्पनीको हकप्रद छिट्टै स्वीकृत हुने अनुमान गर्न सकिन्छ । कम्पनीको बुधवार शेयर मूल्य रू. १ हजार ६० मा कारोबार भएको छ भने प्रतिशेयर आम्दानी रू. १३ दशमलव ५ रहेको छ । कम्पनीको विक्री प्रबन्धक एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले २ दशमलव २६१९२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० बराबर ४ को अनुपातमा हकप्रद जारीका लागि सेबोनमा पुस २४ गते निवेदन पेश गरेको छ । कम्पनीको बुधवार बजार मूल्य रू. ७ सय ४० मा शेयर कारोबार भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव १ रहेको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहको छ । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० बराबर ६ को अनुपातमा हकप्रद जारीका लागि कात्तिक २७ गते निवेदन दिएको छ । कम्पनीको विक्री प्रबन्धक एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । बुधवार बजार मूल्य रू. १ हजार २ सय ५४ मा कारोबार भएको छ भने प्रतिशेयर आम्दानी रू. २० दशमलव ६ रहेको छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले १ बराबर ६ को अनुपातमा हकप्रद जारीका लागि सेबोनमा भदौ २३ गते निवेदन पेश गरेको हो । कम्पनीको हाल बुधवार भएको कारोबारमा बजार मूल्य रू. १ हजार ३ सय रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५ दशमलव ६ रहेको छ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । एभरेष्टले यसअघिको निर्णयबमोजिम ६ सय प्रतिशत हकप्रदका लागि निवेदन दिए पनि हाल कम्पनीमा सर्वसाधारण सदस्यहरूको मात्र शेयर स्वामित्व रहेकाले संस्थापकतर्फको ५१ प्रतिशत स्वामित्व कायमपश्चात् मात्र हकप्रद जारी गर्न निर्देशन आएपछि कम्पनीले सोही निर्देशनबमोजिम परिमार्जन गर्ने निर्णय गरेको छ ।