२४ करोडको लगानीमा धरानमा वैकल्पिक ऊर्जा उत्पादन केन्द्र बन्ने
Mar 13, 2018
 
प्रदेश समाचार
अभियान संवाददाता
धरान । धरानमा फोहोरबाट वैकल्पिक ऊर्जा उत्पादन गर्न भेञ्चर वेष्ट टु इनर्जी लगानी गर्न तयार भएको छ । नेपालमै पहिलो पटक एनारोविक डिजेष्टेशन प्रविधिबाट ऊर्जा उत्पादन गर्न भेञ्चर वेष्ट टु इनर्जीले २४ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
उपमहानगरपालिकाको शून्य लगानी रहेको आयोजनाका लागि भेञ्चर वेष्टले धरान–६ स्थित पानबारीमा १६ कट्ठा जग्गासमेत खरीद गरेको छ । २० वर्षपछि धरान उपमहानगरपालिकाको पूर्ण स्वामित्वमा आउने गरी नेपाल सरकार ऊर्जा प्रवर्द्धन केन्द्र र लगानीकर्ताबीच सम्झौता भएको धरान उपमहानगर प्रमुख तारा सुब्बाले बताए । धरानको फोहोरबाट वैकल्पिक ऊर्जा उत्पादन गरी फोहोरलाई पनि आयस्रोत बनाउने योजनाअनुसार कार्य अगाडि बढेको उनले बताए । धरानमा उत्पादन हुने जैविक फोहोरबाट वैकल्पिक ऊर्जा, मल उत्पादन गर्ने र अन्य फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न सकिने बताए । उनले भने, ‘अहिले धरानमा उत्पादन हुने फोहोरमध्ये ८० प्रतिशत जैविक फोहोर छ, जसलाई वैकल्पिक ऊर्जामा प्रयोग गर्न सकिन्छ, बाँकी २० प्रतिशत फोहोरलाई पुनः प्रयोग गर्न मिल्दैन । हामी त्यसको पनि व्यवस्थापन गर्न विकल्प निकाल्छौं ।’
पाँच वर्षभित्रमा धरान उपमहानगरले फोहोर व्यवस्थापन गर्दै आएको करीब १ करोड २५ लाख रुपैयाँ खर्च जोगिने दाबी गरिएको छ । भेञ्चर वेष्ट टु इनर्जीका अध्यक्ष जेनेस श्रेष्ठले अब केही महिनाभित्रै धरानमा काम थाल्ने बताए । ‘हामीले नेपालमा पहिलो पटक एनारोविक डिजेष्टेशन प्रविधिबाट ऊर्जा उत्पादन गर्न लागेका छौं, यसमा उपमहानगरको आर्थिक सहभागिता छैन, हामीले नै लगानी गर्नेछौं,’ उनले भने, ‘अधिकतम पाँच वर्षसम्म धरान उपमहानगरले फोहोर उठाइदिने र त्यसपछि हामीले आफैं फोहोर उठाउने सहमति भएको छ ।’ फोहोरबाट भएको आम्दानीको एक प्रतिशत रोयल्टी उपमहानगरलाई बुझाउने श्रेष्ठले बताए ।
धरानमा अहिले दैनिक २२ मेट्रिकटन फोहोर उत्पादन भइरहेको छ । यो फोहोरबाट धरानको माग धान्न सक्ने गरी ग्यास उत्पादन गर्न प्रयासरत रहेको श्रेष्ठले बताए । दैनिक ५ हजार सिलिण्डर ग्यास उत्पादन गर्दै फोहोरबाट बिजुली र मल पनि उत्पादन गरेर विक्री गरिने उनको भनाइ छ ।
२०६८ सालमा सरकारले गरेको अध्यननअनुसार नेपालमा वार्षिक ५३ लाख मेट्रिकटन शहरी फोहोर उत्पादन हुने गरेको छ । उक्त फोहोरबाट ११ लाख एलपी ग्यास सिलिण्डर प्रतिस्थापन गर्न सकिने बताइएको छ । धरानमा राख्न लागिएको प्लान्टबाट दैनिक ३० मेट्रिकटन दैनिक फोहोरको प्रसोधन गर्न सक्छ । यसरी उत्पादन गरिएको ऊर्जा वातावरणमैत्री हुने भेञ्चर वेष्ट टु इनर्जीले जानकारी दिएको छ ।