अभियान संवाददाता
काठमाडौं । प्रदेश १ का ९ जिल्लामा चालू आर्थिक वर्ष (आव) २०७४/७५ को माघसम्ममा विद्युत् चुहावट करीब ४ प्रतिशत घटेको छ । नेपाल विद्युत् प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रले गत आव २०७३/७४ को तुलनामा यस आवको माघसम्ममा उक्त परिमाणमा चुहावट घटाएका हुन् ।
उनीहरूले अघिल्लो आवमा १७ दशमलव ६५ प्रतिशत रहेको चुहावटलाई माघसम्ममा ३ दशमलव ९१ प्रतिशतले घटाएर १३ दशमलव ७४ प्रतिशत कायम गरेका छन् । क्षेत्रीय कार्यालयअन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट विक्री भएको छ । यसअनुसार प्रणालीबाट ७ करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जानकारी दिएको छ ।
सुनसरी जिल्लाको इनरुवा वितरण केन्द्रले प्रदेशकै सबैभन्दा धेरै १० दशमलव ०७ प्रतिशत चुहावट घटाएको छ । अर्कोतर्फ भोजपुर वितरण केन्द्रले भने सबैभन्दा कम अर्थात् शून्य दशमलव ०३ प्रतिशत मात्रै चुहावट घटाउन सकेको छ । ठूला औद्योगिक ग्राहक रहेका विराटनगर र दुहबी वितरण केन्द्रमा पनि यो अवधिमा क्रमशः ४ दशमलव २१ प्रतिशत र ३ दशमलव ७ प्रतिशतले चुहावट घटेको छ ।
विद्युत् चोरी नियन्त्रणका लागि चालिएका कदम, ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यसम्पादन सम्झौतालगायत कारण चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले अप्राविधिक चुहावटमा कमी आएको छ,’ उनले भने, ‘ओभरलोडमा रहेका ट्रान्सफर्मर फेरिरहेका छौं, यसले गर्दा प्राविधिक चुहावटमा पनि क्रमिक रूपमा कमी आइरहेको छ ।’ प्राधिकरण चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त रूपमा अघि बढाउन लागिपरेको उनले बताए ।
चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्राधिकरणको अभियानलाई साथ दिँदै झापाको कन्काई नगरपालिकाले आफ्नो क्षेत्रलाई ‘विद्युत् चुहावटमुक्त’ घोषणासमेत गरिसकेको छ ।
पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले गर्मी शुरू भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने बताए । ‘माघसम्मको तथ्याङ्क हेर्दा विद्युत् चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको टार्गेटभन्दा कम छ, गर्मी शुरू हुनासाथ ट्रान्सफर्मर र ३३ केभी लाइन ओभरलोड भई नियन्त्रणमा अझ चुनौती थपिन्छ,’ उनले भने, ‘तर, हामीलाई दिइएको टार्गेट पूरा गर्ने प्रयासमा क्रियाशील छौं ।’ क्षेत्रीय कार्यालयलाई गत आवमा रहेको १७ दशमलव ६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने टार्गेट दिइएको छ ।
गत असारसम्म प्राधिकरणको देशव्यापी प्रणालीमा २२ दशमलव ९ प्रतिशत विद्युत् चुहावट छ । चालू आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । त्यसैगरी, ३ वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले बताएको छ । प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६ दशमलव ८२ प्रतिशत चुहावटलाई चालू आर्थिक वर्षमा ३ दशमलव ६४ प्रतिशतले घटाएर १३ दशमलव १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।