ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पदबहाली गर्दै नयाँ मन्त्रीहरुले भने–‘आर्थिक विकास र समृद्धिका लागि काम गर्छाैं’

Mar 17, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
चैत ३, काठमाडौं । तेस्रो पटक सरकार विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार ११ जना मन्त्री र ४ जना राज्यमन्त्री थपेर २२ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । एमाले र माओवादी केन्द्रबाट थपिएका मन्त्रीहरुले शुक्रवार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । सपथसँगै केहि मन्त्रीले शुक्रवार र केहि मन्त्रीले शनिवार आफ्नो पदभार ग्रहण गरेका छन् । आर्थिक समृद्धि, सुशासन, तीव्र विकास र स्थिरताको नारा लिएर आएको नयाँ सरकार र नयाँ मन्त्रीहरुले पदबहालीसँगै विभिन्न प्रतिवद्धता ब्यक्त गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा सम्पादन गर्ने कार्यहरुको प्रस्तावलाई स्वीकृति गर्दै शुक्रवार आफ्नो कार्यभार सम्हालेका हुन् । दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने मन्त्री ज्ञवालीले बताए । यसअघि अर्थमन्त्री बनिसकेका नवनियुक्त ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले शुक्रवार पदवहाली गर्दै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको उन्नयनका लागि सबै उपाय अबलम्बन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । विगतका सरकार र मन्त्रीले अगाडि सारेको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने र काम गर्ने वातावरण बनाउने उनको भनाइ थियो । “विगतमा धेरै राम्रा कार्ययोजना बनेका छन् । अस्थिर राजनीतिक प्रणालीका कारण ती कार्ययोजना कार्यन्वयन हुन सकेनन् । अब हामी पाँच वर्ष स्थिर सरकार दिने लक्ष्यका साथ आएका छौँ”–नवनियुक्त ऊर्जामन्त्री पुनले भने । ऊर्जा मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनामा रहेको ढिलासुस्ती र अनियमिततालाई नियन्त्रण गर्ने समेत उनको भनाई छ । माथिल्लो तामाकोशी आयोजनालाई समयमै सम्पन्न गरिने, सिञ्चाइ आयोजनाका रुपमा रहेका रानी जमरा, कुलरिया, सिक्टा जस्ता आयोजनाको निर्माण कार्यलाई गति दिने र समयमै सम्पन्न गर्ने मन्त्री पुनले स्पष्ट पारे । विगतमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर पनि बजेट ल्याउन नपाएको भन्दै उनले यस पटक इतिहास राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री पुनले भेरी नदीमा निर्माण हुने भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी ५ वर्षभित्रमा विकास र समृद्धिका विषयमा जनतासामु गरेको वाचा पूरा गर्ने ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा शुक्रवार पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “अब देश र जनताको हितमा काम गर्नुस्, राम्रो काम गर्नेको राम्रै मूल्यांकन हुनेछ, म कुनै राजनीतिक विचारसँग सरोकार राख्दिन ।” आर्थिक समृद्धि र पूर्वाधार विकासको कामलाई तीव्रता दिने विषयमा प्रधानमन्त्रीको चासोलाई बुझेर काम गर्न आवश्यक रहेको बताउँदै मन्त्री महासेठले थोरै समयमा धेरै काम गरेर राम्रो परिणाम दिनुपर्ने बताए । प्रधानमन्त्री केपी ओलीसँगै फागुन ३ गते मन्त्री बनेका लालबाबु पण्डितले शुक्रवारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि जनसङ्ख्या तथा वातावरणमन्त्री रहेका पण्डितले नयाँ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै कर्मचारीलाई मुलुकको सुशासनमा दृढ भएर लाग्न आग्रह गर्नुभयो । उनले सङ्घीय व्यवस्थाको जग बसाउने जिम्मेवारी यस मन्त्रालयको रहेको भन्दै सबैले इमान्दारितापूर्वक काम गरी कर्मचारीतन्त्रको व्यावसायिक मूल्यमान्यता अनुरुप काम गर्नुपर्ने बताए । उनले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने गरी मन्त्रालयले समन्वयकारी ढङ्गले काम गर्नसमेत निर्देशन दिए । साथै मन्त्री पण्डितले स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि–२०७२ को नमूना स्वीकृत गरेका छन् । शिक्षा र विज्ञान तथा प्रविधिमन्त्री बनेका गिरिराजमणि पोखरेलले शुक्रवार पदबहाली गर्दै विषयवस्तु बुझेर केही दिनपछि मात्रै निर्णय गर्ने भन्दै सबै मिलेर समृद्धिको हाँसिल गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताए । विकास समितिको सभापति रहेर काम गरिसकेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुक्रवार पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता रहेको निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने बताएका छन् । मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन पनि दिएका छन् । त्यसैगरी सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन ‘भिजिट नेपाल इयर’ एक महीनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीव्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन् । सरकारले सन् २०२० मा १५ लाख पर्यटक पु¥याउने गरी भ्रमण वर्ष मनाउन लागिएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संविधानको मर्मअनुसार आवश्यक कानून तत्काल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कानून मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संविधान निर्माणपछिको सरकार भएको हुँदा संविधानको मर्मअनुसार बनाउनुपर्ने धेरै कानूनहरु बनाउने कामलाई प्राथमिकता दिने बताए । मन्त्री तामाङले भने, “नागरिकलाई आवश्यकपर्ने कानून बनाउने यो मन्त्रालयको ठूलो महत्व छ, हरेक काम गर्नुअघि कानून जरुरी पर्छ, कानून नभएका कारण नागरिकको काम रोकिनु हुँदैन ।” सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नागरिकलाई गुणस्तरीय सूचनाको पहुँच पु¥याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । राज्यमन्त्रीमा पदस्थापनपछि उनले नागरिकलाई सूचनाको हक प्राप्त भइसकेको र अब गुणस्तरीय सूचनामा सबैको सुलभ पहुँच पु¥याउनुपर्ने आवश्यकता रहेको बताए । मानवीय सेवाको दृष्टिकोणले पनि कतिपय क्षेत्रमा सञ्चार क्षेत्रले सेवा पु¥याउनुपर्ने बताउँदै राज्यमन्त्री बाँस्कोटाले सञ्चारजगत्को सहयोगमा शिक्षा क्षेत्रमा ठूलो सुधार गर्न सकिने धारणा बताए । उनले भने, “शिक्षामा चक र डस्टरको युग त गइसक्यो, त्यसैले अब फरक ढङ्गले पठनपाठन गराउन सके विशेषज्ञ सेवा केन्द्रबाटै देशभर दिन सकिन्छ ।” प्रविधि राज्यमन्त्री बाँस्कोटाले पत्रकारिता, सूचना, ज्ञान, विज्ञापन नीति, प्रविधि र त्यसबाट प्राप्त गर्ने शिक्षा तथा आयआर्जनलगायत विषयमा विज्ञ र सरोकार भएकाहरुसँग छलफल गरिने बताए । कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणी खनालले मुलुकमा आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको जनाउँदै आत्मनिर्भरमुखी कृषि योजना ल्याउने बताएका छन् । पदबहालीेपछि उनले भने, “जैविक विविधताले भरिपूर्ण देशमा कृषिको प्रचुर सम्भावना छ, कृषि उत्पादन निर्वाहमुखि हुन सकेन ।” विज्ञहरुसँग सुझाव लिएर राम्रो योजना निर्माण गरिने बताउँदै मन्त्री खनालले केही वर्षभित्र कृषि उत्पादनलाई निर्यातमुखी बनाइने प्रतिबद्धता व्यक्त गरे । यसअघि गृहमन्त्री र स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रवार पदभार ग्रहण गर्दै सुशासन आफैँबाट कायम गर्नुपर्ने बताएका छन् । वन तथा वातावरण बिग्रन नदिन आफ्नो कार्यकालको प्रमुख प्राथमिकता भएको पनि उनको भनाई थियो । खानेपानीमन्त्री बीना मगरले पदबहाली गर्दै देश र जनताको चाहनाअनुसार जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । मन्त्री मगरले मन्त्रालयमा देखिएका विभिन्न समस्या समाधान गर्न सामूहिक कार्यको आवश्यकता पर्ने भन्दै सहयोगको अपेक्षा गरेको बताईन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले आज पदभार गर्दै खेलकुद क्षेत्रलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अन्तरराष्ट्रियस्तरमा देशलाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएकाले यसको विकास तथा विस्तारका लागि उपयुक्त कदम चाल्ने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)