ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पोखराको फिर्केखोलाको रेखाङ्कन शुरू

Mar 20, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
पोखरा (अस) । पोखरा लेखनाथ महानगरपालिकाले पोखराको बीच भाग भएर बग्ने फिर्केखोलाको सिमाना छुट्याउन रेखाङ्कनको काम शुरू गरेको छ । फिर्केखोलाको दायाँबायाँ अतिक्रमण बढेको भन्दै सरोकारवालाको दबाब आएपछि अतिक्रमण हटाएर फिर्केखोलाको सार्वजनिक जग्गा छुट्याउन रेखाङ्कनको काम शुरू गरिएको हो । पोखरा लेखनाथ महानगरपालिकाको अगुवाइमा सराङकोटको फेदी अँधेरी कुनाबाट शुरू भई प्रस्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्केखोलाको सिमाना रेखाङ्कन गर्ने कार्य बुधवारदेखि औपचारिक रूपमा शुरू भएको छ । मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरले फिर्केखोला किनारमा ५ मिटरको मापदण्ड तोकेर कुनै पनि संरचना बनाउन निषेध गरेको थियो । तापनि, दायाँबायाँका सँधियारले विनास्वीकृति भौतिक संरचना निर्माण गरी प्राकृतिक दोहन गर्दै आएपछि महानगरले बाध्य भएर रेखाङ्कनको काम शुरू गरेको हो । फेवातालमा मिसिने फिर्केखोलाको अन्तिम विन्दुबाट रेखाङ्कन शुरू गरिएको र यो फिर्केको मुहान सराङकोटको फेदीसम्मै गरिने बताइएको छ । रेखाङ्कन सकिएलगत्तै अल्टिमेटमसहित १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र यदि कसैले अस्वीकार गरे महानगरले डोजर लगाएर हटाउने निर्णय गरेको बताइएको छ । डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने पनि बताइएको छ । पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्न र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)