चैत ७, काठमाडौं (अस) । बुधवार नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ । परिसूचक घटेपनि केही दिनयता कारोबार रकममा भने सुधार देखिएको छ । जसका कारण केही विश्लेषकहरु शेयर बजारमा सुधार आउने आशा गरिरहेका छन् ।
यस दिन परिसूचक २४ दशमलव ४० अङ्कले घटेर १ हजार २ सय ३१ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । कारोबार रकम भने रू. ४ करोड ९४ लाख बढेर रू. ३७ करोड ८३ लाख पुगेको छ । र, बजार पूँजीकरण भने १ दशमलव ९४ प्रतिशत घटेर रू. १४ खर्ब ४१ अर्ब पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स २ दशमलव शून्य ५ प्रतिशतले घटेर २ सय ६२ दशमलव ४० अङ्क पुगेको छ । उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका सबै समूहहरुको परिसूचक घटेपछि समग्र शेयर बजार ओरालो लागेको हो ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्सको रू. ३ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ । यस बीमा कम्पनीको ३ सय ७३ पटकको व्यापारमा २१ हजार २ सय ३४ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य रू. ६२ ले घटेर अन्तिम मूल्य रू. १ हजार १ हजार ६ सय १३ पुगेको छ । प्रोग्रेसिभ फाइनान्सको मूल्य भने ९ दशमलव शून्य ९ प्रतिशत घटेर अन्तिम मूल्य रू. १ सय ५० पुगेको छ ।
उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव ७१ प्रतिशत बढेको छ । युनिलिभर नेपालको शेयर मूल्य रू. १ हजार ५ सय १० ले बढेपछि यस समूहको परिसूचक बढेको हो । युनिलिभरको शेयर मूल्य बढेर अन्तिम मूल्य रू. २६ हजार २ सय ११ पुगेको हो । कारोबारमा आएका बाँकी समूहहरुको शेयर मूल्य घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।
लघुवित्त समूहको परिसूचक ३ दशमलव ४ प्रतिशत र बीमाको ३ दशमलव १२ प्रतिशत घटेको छ । बैङ्किङ समूहको परिसूचक १ दशमलव ९८ प्रतिशत, जलविद्युतको १ दशमलव ५२ प्रतिशत र ‘अन्य’ समूहको १ दशमलव ३९ प्रतिशत घटेको छ । साथै, होटल समूहको परिसूचक १ दशमलव २७ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ९८ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव ९४ प्रतिशत घटेको हो ।
यस दिन १० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, १ सय ३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ५१ कम्पनीको ५ हजार ६ सय ५७ पटकको व्यापारमा ९ लाख ३३ हजार ६ सय ९७ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा २२ दशमलव ३८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव शून्य ७ अङ्क रहेको छ । यसले बजार बियरीश प्रवृत्तिमा रहेको देखाउँछ ।