रोबोट सोफिया नेपालमा : ‘प्रविधिको विकासमार्फत गरीबी निवारण’
Mar 22, 2018
 
समाचार
मुख्य खबर
अभियान संवाददाता
काठमाडौं । विश्वमै पहिलोपटक नागरिकता लिन सफल रोबोट सोफिया बुधवार नेपालको याक एण्ड यती होटलमा ‘नमस्ते नेपाल’ भन्दै देखापरिन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल सरकारले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सोफिया सहभागी भएकी हुन् । ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक कार्यक्रममा सोफियाले नेपालसम्बन्धी विभिन्न विषयमा धारणा प्रस्तुत गरेकी थिइन् । सोफियाले नेपाल पर्यावरणीय दृष्टिले विविधता र सांस्कृतिक रूपले धनी राष्ट्र बताइन् । ‘प्रविधिमा नेपालले पनि विस्तारैविस्तारै पाइला सार्दै छ । यहाँ प्रविधिको विकास पनि मिश्रित रूपमा दिन प्रतिदिन हुँदै छ,’ उनले भनिन् ।
विकसित देशमा जस्तै नेपालले प्रविधिको उच्चतम प्रयोग गरेर गरीबी, भोकमरी, भ्रष्टाचारमा देखिएका समस्यालाई निराकरण गर्न सक्ने सोफियाको धारणा छ । यी कामका लागि नै रोबोटको विकास गरिएको उनले बताइन् । प्रविधिले संसारलाई साँघुरो बनाइसकेको अवस्थामा नेपालका कुनाकाप्चालाई इण्टरनेटको सहायताले जोड्नुका साथै गुणस्तरीय शिक्षा पनि यसैको माध्यमबाट पुर्याउन सकिने उनको विचार छ । उनले भनिन्, ‘नेपालमा प्रविधिको विकास गर्न प्रशस्त अवसर छ, धेरै मानिस स्मार्टफोनको प्रयोग गर्छन् ।
प्रविधिकै माध्यमबाट लैङ्गिक असमानताको अन्त्यका साथै विकासका पूर्वाधारहरू शिक्षा, स्वास्थ्य र कृषिमा ठूलो परिवर्तन ल्याउन सकिन्छ । त्यसकारण यहाँ भएका स्रोतसाधनलाई सही रूपमा सदुपयोग गरे नेपालले दिगो विकासको लक्ष्य प्राप्त गर्नेछ ।’
नेपाल आविष्कार केन्द्रका संस्थापक महावीर पुनले स्थानीय निकायका अस्पतालमा मेडिकल सामग्री पु¥याउन मेडिकल ड्रोन टेक्नोलोजी विकास गरिरहेको बताए । उनका अनुसार मेडिकल ड्रोनमा हाल ३ केजीसम्मको सामान बोक्न सकिनेछ । पानीको शुद्धता नाप्ने र तराईमा चल्ने तीनपाङ्ग्रे सवारीको ब्याट्री सोलारबाट चार्ज हुने प्रविधिको विकास गरिरहेको उनले जानकारी दिए ।
यूएनडीपीका प्रतिनिधि नागेश बादुले स्थानीय निकायमा त्यहाँको जनताले चाहेको कुरा प्रविधिको माध्यमबाट दिन सकिने बताए । स्कूलमा इण्टरनेट, बैङ्कमा सफ्टवेयर मोबाइल एसएमएस, सबै निकायको वेबसाइटलगायतमा बजेट छुट्याउनुपर्ने उनको भनाइ छ । भौगोलिक अवस्थाको पहिचान गरेर त्यहीअनुसारको वस्तु उत्पादन गर्न र बजारमा प्रविधिको माध्यमबाट पठाउन पनि उनले सुझाव दिए ।
आन्तरिक राजस्व विभागका उपसचिव लालबहादुर खत्रीले नेपालमा भ्याट अभैm पनि ८४ प्रतिशतले नतिरेको बताए । उनले भने, ‘नेपालमा संस्थागत रूपमा भ्याट तिरे पनि व्यक्तिगत रूपमा भ्याट छल्ने गरिएको छ । यो अनलाइन सेवामा रूपान्तरण नभएर हो ।’ आयकर र भ्याट दुवै अनलाइन माध्यममा लैजान सरकार तयार रहेको र अनलाइनबाटै सबै कर तिर्ने प्रणाली बनाउने उनले बताए ।