चैत ८, काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा निकै उतार चढाव देखापरेको छ । पहिलो २ घण्टासम्म निरन्तर ओरालो लागेर न्यून विन्दु १ हजार २ सय ७ विन्दुमा पुगेको बजार त्यसपछि बढेर १ हजार २ सय ३८ को उच्च विन्दुमा पुगेको थियो । तर, अन्त्यमा परिसूचक शून्य दशमलव ८६ प्रतिशतले घटेर १ हजार २ सय २० दशमलव ४४ विन्दुमा पुगेर टुङ्गिएको हो । कारोबार रकम रू. ५ करोड ९८ लाख बढेर रू. ४३ करोड ८२ लाख पुगेको छ भने कुल बजार पूँजीकरण घटेर रू. १४ खर्ब २९ अर्ब पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७६ प्रतिशतले घटेर २ सय ६० दशमलव ४१ अङ्क पुगेको छ । कारोबारमा आएका सबै समूहहरुको परिसूचक घटेपछि समग्र शेयर बजार ओरालो लागेको हो ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्सको रू. ४ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको अन्तिम मूल्य रू. १ हजार ६ सय पुगेको हो । नागबेली लघुवित्त विकास बैङ्कको शेयर मूल्य ८ दशमलव १४ प्रतिशत बढेर अन्तिम मूल्य रू. २ हजार ९९ पुगेको छ । प्रोग्रेसिभ फाइनान्सको मूल्य भने ५ दशमलव ३३ प्रतिशत घटेर अन्तिम मूल्य रू. १ सय ४२ पुगेको हो ।
होटल समूहको परिसूचक ३ दशमलव २८ प्रतिशत घटेको छ । साथै, बीमा समूहको परिसूचक २ दशमलव शून्य ८ प्रतिशत, जलविद्युतको १ दशमलव ७२ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४९ प्रतिशत, लघुवित्तको १ दशमलव ४ प्रतिशत घटेको हो । ‘अन्य’ समूहको शून्य दशमलव ७५ प्रतिशत, विकास बैङ्कको शून्य दशलमव ७४ प्रतिशत, बैङ्किङको शून्य दशमलव ३६ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव १२ प्रतिशत घटेको छ ।
यस दिन ३७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, १ सय ५८ कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ५८ कम्पनीको ६ हजार १ सय ९ पटकको व्यापारमा १० लाख ७७ हजार ७ सय ४९ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अर्थात् २१ दशमलव शून्य २ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ३५ अङ्क रहेको छ । यसले बजार बियरीश प्रवृत्तिमा रहेको देखाउँछ ।