२९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी : दोस्रो दिनसम्ममा करीब २ करोडको व्यवसाय
Mar 25, 2018
 
बजार
अभियान संवाददाता
काठमाडौं । २९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको दोस्रो दिनसम्ममा करीब २ करोड रुपैयाँबराबरको व्यवसाय भएको छ । ‘स्वदेशी वस्तु प्रयोग गरौं, समृद्धितर्फ अघि बढौं’ भन्ने मूल नाराका साथ शुक्रवारदेखि शुरू भएको उक्त प्रदर्शनीको २ दिनको अवधिमा १ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको घरेलु तथा साना उद्योग विकास समितिका सह कार्यकारी निर्देशक विनोददेव पन्तले जानकारी दिए ।
देशमा आर्थिक विकासका लागि औद्योगिक वातावरण सृजना गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, विकास तथा विस्तारमा जोड दिने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीमा २ दिनमा २ लाख २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीको दोस्रो दिन शनिवार सार्वजनिक बिदाले गर्दा पनि बढी अवलोकनकर्ता सहभागी रहेको पन्तले बताएका छन् ।
५ दिनसम्म चल्ने यस प्रदर्शनीमा ७७ ओटै जिल्लाबाट उद्यमीको सहभागिता रहेको छ । प्रदर्शनीमा ढाका कपडा, बाँस तथा अल्लो र केराजस्ता प्राकृतिक रेशाबाट उत्पादित वस्तु, छालाका उत्पादन, चिया तथा कफी, मिथिला आर्ट, करुवा, खुकुरीलगायत लघु तथा साना उद्यमीले उत्पादन गरेका अन्य हस्तकलाका सामग्री प्रदर्शनीमा छ । त्यस्तै, उद्यमीका लागि उपयुक्त परम्परागत तथा आधुनिक प्रविधिसमेत प्रदर्शनीमा समावेश गरिएको छ । साथै उद्योग सञ्चालनमा आवश्यक पर्ने वैकल्पिक ऊर्जासम्बन्धी प्रविधिको बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराइने आयोजकको भनाइ छ ।
सह कार्यकारी निर्देशक पन्तका अनुसार, प्रदर्शनीमा मुख्यगरी ढाका, अल्लो बाँस, खुकुरीलगायत कलात्मक सामग्रीतर्फ अवलोकनकर्ताको आकर्षण बढेको छ । त्यस्तै ढाका बुन्ने प्रविधि, इम्ब्रोइडरी, फेल्ट उत्पादनका प्रविधितर्फ पनि बढी आकर्षण रहेको उनले जानकारी दिए । यीबाहेक प्रदर्शनीमा रहेका अन्य वस्तुतर्फ पनि सहभागीले चासो देखाएको उनले स्पष्ट पारे ।
चैत १३ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा ३ सयभन्दा बढी स्टल रहेका छन् । प्रदर्शनी अवधिभर देशका प्रतिष्ठित उच्च व्यक्तित्वको सहभागिता रहने आयोजकको भनाइ छ । प्रदर्शनीमा ५ लाख अवलोकनकर्ताको सहभागिता रही करीब ८ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
डकुमेण्ट धरौटीमा ऋण दिने व्यवस्था गर्छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताका लागि डकुमेण्ट धरौटी राखेर सरकारले ऋण प्रवाह गर्ने बताएका छन् । मुलुकमा सकारात्मक परिवर्तनका लागि आफूले सक्दो प्रयास गर्ने भन्दै उद्यमशीलताका लागि विनाधितो ऋणको व्यवस्था गर्ने उनले बताएका हुन् । ‘उद्यमीको योजना, शीप र क्षमताका आधारमा ऋणको व्यवस्था गर्छु प्रधानमन्त्री भन्छन्, धरौटी राख्ने सम्पत्ति भएको खण्डमा आफै व्यवसाय शुरू गर्न सक्ने तर, बाँकीले भने स्वरोजगार बन्न नसकेको भन्दै यस प्रकारको योजना अघि बढाउने बताए ।’
२९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको उद्घाटन गर्दै सर्वाधिक रोजगारी सृजना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योगी तथा व्यवसायीको मनोवल कमजोर हुन नदिन आ–आफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रवर्द्धन गर्दै समृद्धिका लागि कुनै कसर बाँकी नराखी अघि बढ्ने स्पष्ट पारेका छन् ।