अभियान संवाददाता
वीरगञ्ज । जिल्ला समन्वय समिति (जिसस) बाराका ठेकेदारले सम्झौताविपरीत कर उठाएको भेटिएको छ । जिसस र ठेकेदार कम्पनी राजकुमार साह इण्टरप्राइजेजको मिलेमतोमा अधिकार क्षेत्रबाहिर गएर व्यवसायीहरूसित जबर्जस्ती कर लिइएको हो । जिससले ठेकेदारको गैरकानूनी असुलीलाई संरक्षण दिएको पाइएको छ ।
ठेकेदारले सम्झौतामा उल्लेख नै नभएको सोया डीओसीमा कर उठाएको हो । जिसस र ठेकेदारबीच भएको सम्झौतामा जिल्लामा व्यावसायिक प्रयोजनका लागि उत्पादित भुस, ब्राण्ड र पिनामा मात्र कर लिन पाइने उल्लेख छ । यस्तोमा विक्रीमूल्यको शून्य दशमलव ५ प्रतिशत कर तोकिएको छ । भटमासको बाइप्रडक्ट सोया डीओसी दाना उद्योगको कच्चा पदार्थ हो । सोया डीओसीमा कर लिन थालेपछि व्यवसायीले यसको प्रतिवाद गरेका छन् ।
बारा लिपनीमालको महालक्ष्मी सोल्भेण्ट एण्ड रिफाइनरी प्रालिले विक्री गरेको सोया डीओसीमा ठेकेदारले यसरी कर असुलेको हो । ठेकेदारले नियमविपरीत कर लिएको आरोप व्यवसायीले लगाएका छन् । ‘ठेकेदारले कर बिजकमा उल्लेख नै नभएको शीर्षकमा जबर्जस्ती कर लिएको छ । यो गैरकानूनी कार्यलाई जिससले पनि समर्थन गर्नु आपत्तिजनक छ,’ एक उद्योगीले भने ।
जिससले समेत ठेकेदारकै पक्षमा स्रोतमा कर उठाउन महालक्ष्मी सोल्भेण्टलाई पत्राचार गरेको छ । बाराका जिल्ला समन्वय अधिकारीले लेखेको पत्रमा पिनालगायतका मालबस्तुमा कर सङ्कलनको ठेक्का दिइएको व्यहोरा उल्लेख गरिएको छ । सोया डिओसीमा कर तिर्नुपर्ने लेखिएको भने छैन ।
यस्तो घुमाउरो व्यहोराको पत्रलाई आधार बनाएर ठेकेदारले कर तिर्न दबाब दिइरहेको व्यवसायीले बताए । ‘कि जिससले सोया डीओसीलाई पिना हो भनेर प्रमाणित गर्नु प¥यो, होइन भने पिना मानेर कर लिनु गैरकानूनी हो,’ एक व्यवसायीले भने ।
ठेकेदारले काटेको कर बिजकमा सोया डीओसीलाई भुस, ब्राण्ड र पिना शीर्षकमा कर लिएको छ । सोया डीओसी नै उल्लेख गरेर कर लिन आग्रह गर्दा ठेकेदारले अस्वीकार गरेको व्यवसायीले बताए । जिससले जिल्लामा उत्पादन भई निकासी हुने र व्यावसायिक प्रयोजनका लागि उत्पादित बस्तुमा कर लगाएको छ । तर, ठेकेदारले उद्योगको गेटमै आफ्ना मान्छे राखेर सबैखालको उत्पादनमा कर लिने गरेको उद्योगी बताउँछन् ।
ठेकेदारको मनोमानीविरुद्ध बाराका उद्योगी व्यवसायीले बारा उद्योग वाणिज्य सङ्घमा लिखित जानकारी गराएर गैरकानूनी कर असुली रोक्न पहलका लागि आग्रह गरेका छन् । सङ्घका अध्यक्ष विनोदप्रसाद साहले सोया डीओसीमा कर लिनु स्थानीय स्वायत्त शासन ऐन÷नियमावली र ठेक्का सम्झौताविपरीत भएको बताए । उनले ठेकेदारको अनुचित कार्यमाथि कारबाहीको माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरेका छन् । बारा उद्योग वाणिज्य सङ्घले गैरकानूनी कर असुलीबारे जिसस बारा, नेपाल उद्योग वाणिज्य महासङ्घ, बाराका प्रहरी प्रमुख र सम्बन्धित ठेकेदारको पनि ध्यानाकर्षण गराएको छ ।