राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी: स्टलमा राखिएका सबै सामान विक्री, अर्डर लिंदै व्यवसायी
Mar 26, 2018
 
बजार
अभियान संवाददाता
चैत १२, काठमाडौं । २९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको चौथो दिनसम्ममा ४ करोड ७५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । ‘स्वदेशी वस्तु प्रयोग गरौं, समृद्धितर्फ अघि बढौं’ भन्ने मूल नाराका साथ चैत ९ गतेदेखि शुरू भएको उक्त प्रदर्शनीको ४ दिनको अवधिमा करीब ४ लाख ५० हजारले अवलोकन गरेको घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले जानकारी गराएका छन् ।
प्रदर्शनीको चौथो दिन सोमवार नेपाल गुणस्तर चिह्नबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न जिल्लाका फरकफरक ५० जना उद्यमी सहभागी रहको झाले जानकारी दिए । साथै, प्रदर्शनीको पाँचौं तथा अन्तिम दिन मङ्गलवार बौद्घिक सम्पत्तिसम्बन्धी अन्तरक्रियाको आयोजना तय गरिएको छ ।
५ दिनसम्म चल्ने यस प्रदर्शनीमा ७३ ओटा जिल्लाबाट उद्यमीको सहभागिता रहेको छ । प्रदर्शनीमा महिलाद्वारा सञ्चालित २९ ओटा स्टल रहेका छन् । प्रदर्शनीमा ढाका कपडा, बाँस तथा अल्लो र केरा जस्ता प्राकृतिक रेशाबाट उत्पादित वस्तु, छालाका उत्पादन, चिया तथा कफी, मिथिला आर्ट, करुवा, खुकुरीलगायत लघु तथा साना उद्यमीले उत्पादन गरेका अन्य हस्तकलाका सामग्री राखिएका छन् । त्यस्तै, उद्यमीका लागि उपयुक्त परम्परागत तथा आधुनिक प्रविधिसमेत प्रदर्शनीमा समावेश गरिएको छ । उद्योग सञ्चालनमा आवश्यक पर्ने वैकल्पिक ऊर्जासम्बन्धी प्रविधिबारे पनि अवलोकनकर्तालाई जानकारी गराइने आयोजकको भनाइ छ ।
सोमवारसम्ममा कतिपय स्टलको सामान पूर्णरूपमा विक्री भइसकेकाले उनीहरूले पछि सप्लाई गर्ने गरी अर्डर लिइरहेको कार्यकारी निर्देशक झाले बताए । ५ दिनको प्रदर्शनीलाई २ दिनसम्म अझै बढाउन प्रदर्शनीमा आएका अवलोकनकर्ताले सुझाव दिएको झाको भनाइ छ ।
कार्यकारी निर्देशक झाका अनुसार प्रदर्शनीमा मुख्यगरी ढाका, अल्लो, खुकुरीलगायत कलात्मक सामग्रीतर्फ अवलोकनकर्ताको आकर्षण बढेको छ । त्यस्तै, ढाका बुन्ने प्रविधि, इम्ब्रोइडरी, फेल्ट उत्पादनका प्रविधितर्फ पनि बढी आकर्षण रहेको उनले जानकारी गराएका छन् । चैत १३ गतेसम्म सञ्चालन रहने यस प्रदर्शनीमा ३ सयभन्दा बढी स्टल रहेका छन् । प्रदर्शनी अवधिभर देशका प्रतिष्ठित उच्च व्यक्तित्वको सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।