अभियान संवाददाता
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बीमा कम्पनीहरू शहरकेन्द्रित हुँदा बीमाको पहुँच आवश्यक मात्रामा विस्तार हुन नसकेको बताएका छन् । ३५ बीमा कम्पनीहरू सञ्चालनमा हुँदा पनि गाउँका मानिसमा बीमासम्बन्धी ज्ञान नहुनु दुःखद पक्ष भएको उनको भनाइ छ ।
समितिले आर्थिक पत्रकारका लागि आयोजना गरेको दुईदिने बीमा आधारभूत तालीमको शनिवार समापन गर्दै अध्यक्ष चापागाईंले विभिन्न स्थानीय तहमा गरेको बीमासम्बन्धी चेतनामूलक कार्यक्रममा जनप्रतिनिधिलाई समेत बीमा समितिका बारेमा थाहा नभएको बताए । यद्यपि, बीमाको साक्षरतामा भने सुधार पाइएको उनको भनाइ थियो ।
उनले बीमाक्षेत्रमा देखिएको नीतिगत र अन्य समस्यालाई नयाँ ऐनबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । बीमा ऐन, २०४९ ले नीतिगत रूपमा केही समस्या उब्जाएको बताउँदै उनले नयाँ ऐनमार्फत बीमाक्षेत्रलाई सशक्त बनाउने बताए ।
उनले कम्पनीको चुक्तापूँजी कम हुँदा पनि गाउँमा सेवा विस्तार गर्न गाह्रो भएको बताए । समितिले सोही समस्याको समाधान गर्न चुक्तापूँजी बढाउने नीति ल्याएको बताउँदै उनले केही वर्षमा बीमाको पहुँचमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे ।
आर्थिक पत्रकार समाजले संयोजन गरेको उक्त तालीममा विभिन्न मिडियाका करीब ४० जना आर्थिक पत्रकार उपस्थित थिए । समाचारमा बीमासम्बन्धीका प्राविधिक विषयवस्तुलाई पनि समेट्ने उद्देश्यले उक्त तालीम सञ्चालन गरेको समितिका उपनिर्देशक ध्रुव तिमिल्सिनाले बताए । तालीममा विभिन्न चरणमा गरेर बीमा समितिका पदाधिकारी तथा आर्थिक अभियानका प्रधानसम्पादक मदन लम्सालबाट बीमाका आधारभूत विषयवस्तुसम्बन्धी प्रशिक्षण दिइएको थियो ।