ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वन्यजन्तु र पैदावारको तस्करी नियन्त्रणका लागि आरआरटी

Apr 1, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकारी र पैदावरको तस्करी नियन्त्रणका लागि द्रुत सूचना विश्लेषण केन्द्र (आरआरटी) सञ्चालनमा ल्याइएको छ । चोरी शिकारी र तस्करीका दृष्टिले संवेदनशिल क्षेत्रलाई लक्षित गरी यो प्रविधि अपनाइएको निकुञ्जको आधाभार कार्यालयले जानकारी दिएको छ ।

पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्ज क्षेत्रमा हुने अनधिकृत गतिविधि नियन्त्रणमा आरआरटी प्रभावकारी भएको दाबी गरे । आरआरटीमा सूचनालाई द्रुत गतिमा सङ्कलन गर्नसक्ने सफ्टवेयर जडान गरिएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले यस्तो सफ्टवेयर तयार पारेको हो । सफ्टवेयरमार्फत सङ्कलित सूचनाका आधारमा चोरी शिकारी र वन पैदावारको तस्करी नियन्त्रण सहज भएको आचार्यले बताए । आरआरटीको सूचनाका आधारमा स्मार्ट पेट्रोलिङ सहज भएको निकुञ्जको दाबी छ । ‘इण्टरनेटको माध्यमबाट प्राप्त हुने सूचनाका आधारमा तत्कालै आवश्वयक कारबाहीको कदम लिइने गरेकाले नियन्त्रण सहज बनेको छ,’ प्रमुख संरक्षण अधिकृत आचार्यले आर्थिक अभियानसित भने ।

आरआरटीमा निकुञ्जका सहायक संरक्षण अधिकृतको संयोजकत्वमा रेञ्जर र सेनाका प्रतिनिधिसहितको टोलीले प्राप्त सूचनाको विश्लेषण गरी नियन्त्रणको काम गरिरहेका छन् । निकुञ्जमा हुने चोरी शिकारी र काठको तस्करी नियन्त्रणमा आरआरटी प्रभावकारी देखिएको नेपाली सेनाको तारादल गणका प्रमुख सेनानी सरोज अधिकारीले बताए । यो सफ्टवेयरले निकुञ्जका विभिन्न स्थानमा जडान गरिएका पोचर र स्पाइ क्यामराबाट पठाइएको सूचना ३ मिनेटभित्र केन्द्रमा पु¥याउने र त्यसका आधारमा सुरक्षाकर्मीलाई परिचालन गर्ने गरिएको प्रमुख सेनानी अधिकारीले बताए । निकुञ्जका ११ स्थानमा यस्ता क्यामरा जडान गरिएको छ ।

आरआरटीबाट वन र वनक्षेत्रमा हुने दुर्घटनामा उद्दारलाई समेत सघाउ पुगेको दाबी निकुञ्जको छ । निकुञ्जले पैदल, साइकल, मोटरसाइकल, हात्ती, गाडीमार्फत पनि गस्तीलाई तीव्र पारिएको बताइएको छ । निकुञ्जको सुरक्षामा नेपाली सेनाको तारादल गण र निकुञ्जका कर्मचारी खटिएका छन् । बारा, पर्सा र मकवानपुरको ६ सय २७ वर्गकिलोमीटर क्षेत्रफल ओगटेको निकुञ्जका १२ स्थानमा सेना र त्यति नै सङ्ख्यामा निकुञ्ज कर्मचारीको पोष्टमार्फत सुरक्षा निगरानी बढाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)