अभियान संवाददाता
चितवन । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) र स्थानीय कुखुरा व्यवसायीले सुनवल नाका हुँदै भारतबाट अवैध रूपमा ल्याइएको ४० लाख मूल्यबराबरको कुखुरा र माछाको फ्रोजन मासु बरामद गरेका छन् । युपी ७० बीटी १७७६ भारतीय नम्बरको ट्रकमा भन्सार र क्वारेण्टाइन छली ल्याएको कुखुराको मासु भरतपुर महानगरपालिका–१, रामनगरबाट आइतवार नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएको मासु करीब १० टन भएको अनुमान गरिएको छ । विशेष सुराकीको आधारमा उक्त मासु बरामद गरिएको हो । गगन सप्लायर्सको नाममा नक्कली क्वारेण्टाइन बनाई भैरहवा क्वारेण्टाइनबाट काठमाडौं लैजाँदै गरेको कुखुराको मासु चितवनका कुखुरापालक किसानले नियन्त्रणमा लिएको अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । उक्त ट्रक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाइएको छ । ट्रकमा माछा, केराउ, आलु चिप्सको प्याकेटले मासुलाई छोपी ल्याएको प्रहरीले बताएको छ ।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीका पोखरेलले पशु क्वारेण्टाइनबाट परीक्षण हुनुपर्नेमा प्लाण्ट क्वारेण्टाइन कार्यालयबाट परीक्षण गरी मिलेमतोमा अवैध रूपमा मासु भित्र्याइएको जानकारी दिए ।
प्लाण्ट क्वारेण्टाइन बेलहियाको चलानी नम्बर १५८८६ को पत्रअनुसार क्वारेण्टाइनले जाँचपास गराएको पाइएको छ । तर, भन्सारबाट कृषि उपजको नाममा भन्सार शुल्क तिरिएको पोखरेलले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले बिलमा काठमाडौं मात्रै लेखिएको र कसले मगाएको हो भन्ने उल्लेख नगरिएको बताए । चालक र सहचालकलाई नियन्त्रणमा लिई यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।