चैत २०, काठमाडौं । मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ५१ प्रतिशत बढेको छ । कारोबार शुरु भएको २० मिनेट बढेको बजार त्यसपछि दोस्रो घण्टासम्म घटेको थियो । दोस्रो घण्टापछि केहि समय स्थिर रहेको बजार अन्त्यमा ६ दशमलव शून्य ४ अङ्क बढेर १ हजार १ सय ९९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन कारोबार भएका १० समूहको परिसूचकमा वित्त कम्पनीको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव ९८ प्रतिशतले बढेको छ ।
नेप्सेमा उच्च कारोबार हुने १० कम्पनीमा ७ कम्पनी वाण्ज्यि बैङ्क रहेका छन् । लगानीकर्ताको रोजाईमा रहेको सात वाणिज्यमा स्ट्याण्डर्ड चार्टर्ड, नविल बैङ्क, नेपाल इन्भेष्टमेण्ट, एभरेष्ट बैङ्क, ग्लोबल आइएमई, सानिमा बैङ्क र नेपाल एसबिआई बैङ्क रहेको छन् ।
यस दिन कारोबार भएका १ सय ६० कम्पनीको ३ हजार ५ सय ८४ पटकको व्यापारमा ६ लाख ६६ हजार ५ सय ९६ कित्ता शेयरको रू. २१ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको छ । म्यानुअल कारोबार रू. ५२ लाख ७१ हजार रहेको छ । नागरिक लगानी कोषको प्रतिकित्ता रू. २ हजार ६ सय ५० मा रू. १ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल कम्युनिटी डेभलपमेण्ट बैङ्कको शेयर मूल्य ६ दशमलव ७८ प्रतिशतले बढेको छभने बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ दशमलव ६७ प्रतिशतले घटेको छ ।