सिण्डिकेटकै पक्षमा यातायात व्यवसायी, सरकारलाई चरणबद्ध रुपमा दवाव दिने
Apr 9, 2018
 
समाचार
अभियान संवाददाता
चैत २६, काठमाडौं । मुलुकको यातायात क्षेत्रमा रहेको सिण्डिकेट कायम राख्न यातायात व्यवसायीहरू सक्रिय भएका छन् । सरकार यातायात क्षेत्रमा रहेको सिण्डिकेट तथा सीमित यातायात व्यवसायीको एकाधिकार तोड्न अग्रसर भएका बेला नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सोमवार बसेको केन्द्रीय परिषद्को बैठक भने सिण्डिकेटकै पक्षमा देखिएको छ ।
यातायात क्षेत्रमा देखिएको एकाधिकार तोड्नका लागि गत साता यातायात व्यवस्था विभागले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६०’ संशोधन गरेको हो । तर, विभागले जारी गरेको निर्देशिकाको विरोध गर्दै बैठकले यातायात व्यवसायीहरू कम्पनीको रूपमा नभई हाल कायमै भएअनुसार अघि बढ्ने बताएको छ ।
बैठकमा महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सबै यातायात व्यवसायीको समन्वय तथा सल्लाह सुझावपछि अघि बढिने बताए । उनले भने, ‘यातायात क्षेत्रमा हामीले एकाधिकार कायम राखेका छैनौं, तर विभागले जारी गरेको निर्देशिकाविरुद्ध हामी आन्दोलनका कार्यक्रमहरू गर्छाैं ।’ उनले तत्काल यातायात बन्द नगर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सातओटै प्रदेशका सम्बन्धित मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाएर पहिले हामी दबाब दिन्छौं र वार्ताबाट समाधान नभए मात्र आन्दोलनमा जान्छौं ।’
सरकारले नयाँ यातायात कम्पनीलाई रूट पर्मिट दिएको भन्दै महासङ्घअन्तर्गतका समिति तथा यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले यातायात क्षेत्रलाई स्वच्छ प्रतिस्पर्धी बनाउने भन्दै अहिले नयाँ निर्देशिकामार्पmत यातायात व्यवसायीलाई कम्पनीको रूपमा दर्ता भएर विभागबाट अनिवार्य पञ्जीकरण गर्नैपर्ने व्यवस्था गरेको छ । सरकारले अन्य यातायात व्यवसायीहरूलाई रूट पर्मिट नै दिन नहुने मागसहित यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । तर, विभागले देशैभर नयाँ रूट पर्मिट जुनसुकै यातायात व्यवसायीलाई दिने गरी रूट पर्मिटका लागि आह्वान नै गरेको छ ।