चैत २८, वीरगञ्ज । अमेरिकी सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको गोदाम खाद्य संस्थानलाई हस्तान्तरण गरिएको छ । प्राकृतिक विपदका बेला खाद्यान्न सुरक्षाका लागि बनाइएको गोदाम बुधवार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच काठमाडौंस्थित अमेरिकी दूतावासका सुरक्षा प्रमुख ग्रेगोरी पाइप्सले खाद्य संस्थानका निमित्त महाप्रबन्धक श्रीमणी खनाललाई हस्तान्तरण गरेका हुन् ।
खाद्य संस्थान क्षेत्रीय कार्यालय वीरगन्ज परिसरमा गोदाम बनाइएको छ । गोदाम हस्तान्तरण कार्यक्रममा पाइप्सले यो संरचना नेपालमा हुने दैवी प्रकोपबाट उत्पन्न खाद्य सङ्कट समाधानका लागि अमेरीकी जनताको तर्फबाट उपहार भएको बताए ।
संस्थानका निमित्त महाप्रबन्धक खनालले अमेरिकी सहयोगमा निर्माण गरिएको अत्याधुनिक गोदामले खाद्यान्न भण्डारण सहज हुने बताए । उनले पुराना गोदामका कारण समस्या भइरहेको गुनासो पनि गरे । सरकारले सार्क फुड बैङ्कमा ८ हजार मेट्रिकटन र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा २५ हजार मेट्रिक टन खाद्यान्न भण्डारको जिम्मेवारी खाद्य संस्थानलाई दिएको खनालले बताए । अब गोदामको सङ्ख्या १ सय ५४ पुगेको बताइएको छ ।
वीरगन्जमा मात्र यसअघि ४ हजार ५ सय क्षमताका ५ ओटा गोदाम रहेकोमा यो एक हजार मेट्रिकटन क्षमताको थपिएको छ । संस्थानको भण्डारण क्षमता १ लाख मेट्रिकटन पुगेको खनालले बताए ।