ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाली कार्गोमा एक महीनाभित्र ट्रयाकिङ सिष्टम, आयातको लागत घट्ने

Apr 16, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
वैशाख ३, वीरगञ्ज । तेस्रो मुलुकबाट भारतीय समुद्री बन्दरगाह हुँदै नेपालका लागि आउने कार्गोमा अब इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिष्टम (ईसीटीएस) लागू हुने भएको छ । अबको एक महीनाभित्रै नेपाली कार्गोमा यो प्रविधि कार्यान्वयनमा आउने कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले बताएको छ । समुद्रपारबाट नेपालका अधिकांश कार्गो आउने कोलकाता बन्दरगाहमा ईसीटीएस परीक्षणका रुपमा लागू भइसकेको छ । कोलकाता पोर्ट ट्रष्टले मार्चदेखि परीक्षण गरिरहेको र एक महीनाभित्र नेपालका लागि आउने कण्टेनरमा लागू हुने कोलकाता स्थित नेपाली महावाणिज्यदूत एक नारायण अर्यालले आर्थिक अभियानलाई बताए । नेपाली आयातसँग सरोकार राख्ने हल्दिया र विशाखापत्तनम् बन्दरगाहमा पनि यो प्रविधि प्रयोगमा ल्याउने तयारी भइरहेको बताइएको छ । ‘ईसीटीएस प्रविधि पूर्ण रुपमा लागू भएपछि नेपाली आयातको लागत घट्छ,’ महावाणिज्यदूत अर्यालले भने, ‘बन्दरगाह र ढुवानीका क्रममा बाटोमा हुने ढिलासुस्ती न्यूनीकरणमा यो प्रविधि सहयोगी हुने देखिएको छ ।’ एशियाली विकास बैङ्कको सहयोगमा कोलकाता बन्दरगाहले प्रयोगमा ल्याएको ईसीटीएस कार्गोको व्यवस्थित ढुवानी र पारदर्शिताको उद्देश्यमा प्रभावकारी हुने बन्दरगाहका अधिकारी बताउँछन् । ‘बन्दरगाहमा आइपुगेका कण्टेनरको सिलमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन डिभाइस (आरएफआइडी) जडान गरिन्छ । यसको मद्दतबाट बन्दरगाह, दुवै देशका भन्सार र आयातकर्ताले कार्गोको अवस्थिति सजिलै थाहा पाउन सक्छन्,’ कोलकातापोर्ट ट्रष्टका अध्यक्ष विनितकुमारले बताए । समुद्री बन्दरगाहमा हुने ढिलासुस्ती र ढुवानीमा सम्भावित दुरुपयोग रोक्न ईसीटीएस प्रभावकारी हुने अपेक्षा बन्दरगाह व्यवस्थापनको छ । महावणिज्यदूत अर्याल यो प्रविधिबाट नेपाली आयाकर्ता लाभान्वित हुने दाबी गर्छन् । आयातकर्ताले घरमै बसी बसी अनलाइनबाटै कण्टेनरनको अवस्था पत्तालगाउन सक्ने भएपछि सरोकारका पक्ष र निकायबाट हुने ढिला सुस्ती रोकिन्छ,’ उनले बताए । नेपाली आयातले भारतीय समुद्री बन्दरगाहमा पु¥याउनु पर्ने प्रक्रियाको न्यूनीकरणमा पनि ईसीटीएस सहयोगी हुने दाबी गरिएको छ । नेपालले भारतको बाटोमात्र प्रयोग गरेकाले आयातमा भारतीय बन्दरगाहमा भन्सार प्रक्रिया आवश्यक नभएको स्वदेशी आयातकर्ताको तर्क छ । भारतीय समुद्री बन्दरगाहमा हुँदै आएको कागजी प्रक्रिया हटाइनुपर्ने माग आयातकर्ताको छ । तर, भारतीय पक्षले ढुवानीकाक्रममा दुरुपयोग हुन सक्ने भन्दै स्वीकृति दिएको छैन । ईसीटीएस लागू भएपछि बन्दरगाह व्यवस्थापन, त्यहाँको भन्सार, आयातकर्ताका प्रतिनिधि, ढुवानीकर्ता लगायतका सबै पक्षलाई समयमै काम सक्न दबाब हुने भएकाले ढुवानीमा समय र लागत बचत हुने दाबी अर्यालको छ । आयातकर्ताले अनलाइनबाटै कण्टेनरको अवस्थिति थाहा पाए पछि अन्य पक्ष स्वतः सजग हुने उनले बताए । ईसीटीएसबाट सरोकारका पक्षले अनलाइनबाटै कण्टेनरको अवस्था जानकारी पाउने भएपछि भारतीय भन्सारमा अनावश्यक प्रक्रिया, त्यसका लागि खर्च भइरहेको समय र लागत बचत हुने अपेक्षा आयातकर्ताको छ । आयातकर्ता प्रदीप केडिया प्रविधको उपयोगबाट आयातको खर्च घटाउने उपाय सकारात्मक भएको बताउँछन् । ‘कार्यान्वयन प्रभवकारी भयो भने नेपाली आयातले लाभ उठाउन सक्छ,’ केडियाको भनाइ छ । ईसीटीएसबाट कार्गो गन्तव्यको बाटो छोडेर अन्यत्र लगेर दुरुपयोग गर्न खोजे तत्कालै जानकारी पुग्छ । बन्दरगाह र सरोकारका भारतीय अधिकारी कार्गोको अवस्थितिबारे सहजै अद्यावधिक हुन सक्छन् । ईसीटीएस प्रविधि रेल र सडक दुवै मार्गमा लागू हुने बताइएको छ । यसका लागि आयातकर्ताले प्रत्येक लोडेड कण्टेनरमा ३ हजार ३ सय र खालीमा ८ सय भारतीय रुपैयाँ तिर्नुपर्ने कोलकाता पोर्ट ट्रष्टका ट्राफिक प्रबन्धक हिमांशु शेखरले बताए । कोलकाता बन्दरगाहमा मार्चदेखि नै कार्यान्वयनमा ल्याउने भनिएकोमा परीक्षणका क्रममा प्राविधिक समस्या देखिएकाले ढिलाई भएको हो । बन्दरगाहले परीक्षणका प्राविधिक समस्या समाधान गरेर कार्यान्वयनको तयारी गरिरहेको महावाणिज्यदूत अर्यालले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)