अभियान संवाददाता
पर्वत । फलेवास नगरपालिकामा कृषिक्षेत्रको व्यावसायिक विकासका लागि अनुदानमा उपकरण वितरण शुरू गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमार्फत कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर, घाँस काट्ने मेशिन र कुटानी पिसानी मिल मेशिन वितरण गर्न थालेको हो ।
नगरपालिकाले सोमवार आयोजित एक कार्यक्रममा हाते ट्र्याक्टर ११ ओटा, कुटानी पिसानी मेशिन १४ ओटा, घाँस काट्ने मेशिन एउटा वितरण गरेको फलेवास नगरपालिकाका कृषि शाखा प्रमुख नारायण शर्मा पौडेलले जानकारी दिए । कृषकको मागको आधारमा ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको उनले बताए । गत कात्तिकमा सूचना प्रकाशित गरेर नगरपालिकाले कृषकको माग सङ्कलन गरेको थियो । सोही मागका आधारमा अनुदानमा सामग्री प्रदान गरिएको फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले जानकारी दिए ।
कृषिको यन्त्रीकरण र आधुनिकीकरणका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा १ करोड ६० लाख रुपैयाँको अनुदान सम्झौता गरिसकेको छ । अनुदान सम्झौता भएका कृषकलाई किस्ता किस्तामा कृषि सामग्री प्रदान गरिने मेयर शर्माले बताए । ‘कृषको मागका आधारमा अनुदानका अन्य कार्यक्रम ल्याउन सकिन्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिका र सम्बन्धित वडास्तरसम्म छलफल गर्छौं ।’ अनुदानका कार्यक्रमले कृषि उत्पादनको वृद्धिमा सघाउ पुग्ने अपेक्षा उनले गरे ।
उपकरण पाएका कृषकले नगरपालिकाको उक्त सहयोगले कृषिको व्यावसायिकता बढाउने बताए । ‘अनुदानले कृषिमा लाग्न उत्साह थपेको छ,’ फलेवास ३ का कृषक प्रेमशर्मा रिजालले भने । ‘अब कृषि उपजको बजारीकरणमा पनि नगरपालिकाले सघाउनुपर्छ ।’ कृषिबाट समृद्धि ल्याउने प्रयासमा स्थानीय सरकार रहेको र आगामी दिनमा सहयोगका थप कार्यक्रम ल्याउन उनले सुझाए ।
नगरपालिकाका ११ ओटै वडाका कृषकलाई सामग्री वितरण गरिएको थियो । यस्तै नगरपालिका र प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित मकै जोन कार्यक्रमले समेत बेलाबेलामा अनुदानमा कृषि उपकरण वितरण गर्दै आएको छ । यस्तै, प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाले कृषिक्षेत्रका लागि करीब रू. २ करोड २५ लाख बजेट ल्याउन लागेको अवसरमा जानकारी गराइएको थियो । मकै जोन एकाइ कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले मकै बीउमा अनुदानदेखि भण्डारणका लागि मेटलबिनमा समेत अनुदानको कार्यक्रम ल्याइएको बताए । किसान समूह तथा सहकारीलाई मागका आधारमा थप अनुदानका कार्यक्रम दिन सकिने जानकारी उनले दिए । भिरालो जमीन खनजोतका लागि मिनी पावरटिल्लर, मकै चुट्ने र प्रशोधन गर्ने मेशिन, कुटानी पिसानी मिल, भकारो सुधार, साना तथा मझौला सिँचाइ, माटो परीक्षण, कृषि चून र रासायनिक मललगायतमा पनि अनुदानको कार्यक्रम छ ।