अभियान संवाददाता
वैशाख ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासमा सरकार निजीक्षेत्र एकजुट भएर लाग्नुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीसँग भेट गर्न पुगेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्दै राष्ट्रपति भण्डारीले सो धारणा व्यक्त गरेकी हुन् ।
मुलुकको आर्थिक घाटा कम गर्न आयात प्रतिस्थापन गर्ने उद्योगको प्रवद्र्धनमा जोड दिनुपर्ने बताउँदै उनले जनताको स्तरीय जीवनयापनका लागि स्वावलम्बी अर्थतन्त्र विकासमा केन्द्रित हुनुपर्ने बताइन् ।
साथै, मुलुकभित्र पर्याप्त रोजगारीका अवसर सृजना हुने उद्योग व्यवसाय सञ्चालन गरी रोजगारीका लागि विदेशिएका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउन उनले निजीक्षेत्रलाई आग्रह गरेकी छिन् ।
महासङ्घका तर्फबाट राष्ट्रपतिलाई बधाई दिनुका साथै नेपालको वर्तमान आर्थिक अवस्था, मुलुकको समृद्धिका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य, लगानी आकर्षण, ऊर्जा विकास, स्वदेशी उद्योगको प्रवद्र्धन तथा महासङ्घले सम्पन्न गरेको प्रादेशिक आर्थिक बहस, भावी कार्यक्रमलगायतका विषयमा छलफल भएको महासङ्घले जानकारी दिएको छ ।