अभियान संवाददाता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब लोडशेडिङ नहुने बताएका छन् । उनले माग आपूर्तिको अवस्था अझैै असन्तुलित रहे पनि लोडशेडिङ हुन नदिन व्यवस्थापकीय दक्षता तथा उपभोक्ताको व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाईएफ) को १४औं वार्षिक साधारणसभा तथा अधिवेशनमा प्रमुख वक्ताको रूपमा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
पुराना पूर्वाधार तथा कतिपय प्राविधिक कारणले औद्योगिक क्षेत्रमा अझै केही समय लोडशेडिङ रहे पनि उनले हट्ने उनको दाबी छ । उनले ऊर्जा समस्या समाधानका लागि इनर्जी बैङ्कको अवधारणा अघि सारिएको स्पष्ट पारे । उनका अनुसार विद्युत् निर्यातभन्दा पहिले सुक्खा मौसममा पनि नेपाल आत्मनिर्भर रहने गरी ऊर्जा उत्पादन तथा व्यवस्थापन आवश्यक रहेको छ ।
अहिले विभिन्न ठाउँमा फेरि लोडशेडिङ हुने भनी भ्रम छर्ने काम भएको र यसले उपभोक्तामा मनोवैज्ञानिक त्रास दिइरहेकाले लोडशेडिङ हुँदैन भनेर सचेतना जगाउन उनले युवा उद्यमीलाई आग्रह गरे ।
एनवाईएफमा नयाँ नेतृत्व
यसैबीच नेपाली युवा उद्यमी मञ्च (एनवाईएफ)को १४औं वार्षिक साधारणसभा तथा अधिवेशनले १ वर्षका लागि अजय श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको निवर्तमान अध्यक्षमा वरुण लोहिया, प्रथम उपाध्यक्षमा निकोलश पाण्डे, द्वितीय उपाध्यक्षमा रितेश लामिछाने, महिला उपाध्यक्षमा जुना माथेमा र सदस्यहरूमा उदिप श्रेष्ठ, उपासना श्रेष्ठ, निभिता प्रधान र कुशलसुन्दर श्रेष्ठ रहेका छन् भने उपाध्यक्ष च्याप्टरमा प्रकाशदेव पालिखे र आमन्त्रित सदस्यमा समोडमान सैंजु निर्विरोध चयन भएका छन् ।
एनवाईएफले युवालाई उद्यमशील बनाउन सातओटै प्रदेशमा प्रादेशिक च्याप्टर गठन गर्ने भएको छ । ७ प्रदेशमध्ये हाल ५ प्रदेशमा मात्रै च्याप्टर क्रियाशील रहेकोमा सबै प्रदेशमा क्रियाशील युवा उद्यमीलाई सहभागी बनाउँदै लैजाने निर्णय भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले
जानकारी दिए ।
एनवाईएफले विगतदेखि नै युवा उद्यमीलाई प्रोत्साहन हुने खालका विभिन्न कार्यक्रम गर्दै आइरहेको र यसले युवामा ऊर्जा थपिएको निवर्तमान अध्यक्ष लोहियाले बताए । युवा उद्यमीलाई सशक्त बनाउन विभिन्न देशमा गरिएको उद्यमी एक्सचेञ्ज कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न देशका उद्यमीलाई नेपाल बोलाएर तथा विदेशमा गएर प्रत्यक्ष अनुभव गर्ने काम भइरहेको र यसलाई निरन्तरता दिने प्रथम उपाध्यक्ष निकोलश पाण्डेले बताए । अहिले संस्थामा २४ जना महिला युवा उद्यमीसहित ३ सय जनाभन्दा बढी युवा उद्यमीको सहभागिता छ ।