अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला : चार दिनसम्म १० करोडको व्यवसाय
May 1, 2018
 
बजार
अभियान संवाददाता
काठमाडौं । राजधानीमा जारी नेपाल १४औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५मा सोमवारसम्म करीब १० करोड रुपैयाँबराबरको कारोबार भएको छ । सोमवारसम्म १ लाख ४० हजारले मेलाको अवलोकन गरेको आयोजकको भनाइ छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा शुक्रवारदेखि भृकुटीमण्डपमा जारी मेलाको सोमवार पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरीप्रभा खड्गीलगायतले अवलोकन गरेका थिए । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ सञ्चालित मेला मङ्गलवारसम्म चल्ने बताइएको छ । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ नाराका साथ सञ्चालित मेलाले मुलुकको समृद्धिलाई सघाउने महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरिको भनाइ छ ।
नेपालमा लघु घरेलु तथा साना उद्योग आर्थिक विकास र समृद्धिका संवाहक रहेको भए पनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योग प्रतिस्पर्धी बन्न नसकेको उनको भनाइ थियो ।
मेलामा साता तथा घरेलु उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सवलगायत प्रदर्शनीका थप आकर्षणका रुपमा रहने मेला संयोजक मोहन कटवालले बताए ।
प्रदर्शनीमा नेपालका सबै जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बङ्गलादेश तथा चीनको सहभागिता छ । २ सय ५० स्टल रहेको मेलाको २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र ७ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष र १० करोड रुपैयाँबराबरको अप्रत्यक्ष कारोबार हुने महासङ्घको अपेक्षा छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा जारी मेलाको सह–आयोजकका नेपाल सरकार, उद्योग मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) छन् ।