अभियान संवाददाता
कास्की । करीब १ वर्षअगाडि नेपाल राष्ट्र बैङ्कले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्न रोक लगाएसँगै ओरालो लागेको कास्कीको घरजग्गाको कारोबार सुस्ताएको छ । घरजग्गा कारोबारमा आएको शिथिलताको प्रभाव मालपोत कार्यालयको राजस्व सङ्कलनमा परेको छ ।
बैङ्कहरुले कर्जामा कडाइ गरेपछि जग्गाको कारोबारमा मन्दी आएको जिल्ला मालपोत कार्यलयका अधिकृत ऋषिराम सुवेदीले बताए । जग्गाको न्यूनतम लागत मूल्याङ्कन आर्थिक वर्ष २०७२/७३ को तुलनामा आव २०७३/७४ मा २५ देखि ५० प्रतिशतसम्म वृद्धि गरिए पनि आर्थिक वर्ष २०७३/७४ मा सङ्कलिन राजस्व राजस्व घट्दो क्रममा छ । सुवेदीका अनुसार चालू आवको हालसम्म मालपोत कार्यालयबाट ३४ हजार ३ सय ५६ लिखत पास भएका छन् । पास भएका लिखतबाट मालपोत कार्यालयले १ अर्ब २२ करोड ७० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साबिक लेखनाथ नगरपालिकामा गत चैतदेखि स्थापना गरिएको मालपोत कार्यालयबाट १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्ष २०७२/७३मा जम्मा मालपोत कार्यालयबाट ४२ हजार ४ सय ५९ लिखत पास भएको थियो, जसबाट १ अर्ब ४० करोड ८८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७२/७३ को तुलनामा २०७३/७४ मा ८ हजार १ सय ३ लिखत कम पास भएको तथ्याङ्कमा उल्लेख छ ।