अभियान संवाददाता
पर्वत । पर्वतको मोदी गाउँपालिका–६, गिज्यानका बासिन्दा गाउँमा मोटरबाटो आफ्नै घरको आँगन भत्काउन पनि तयार भए । गाउँमा सडक भए पनि गाडी नचल्दाको सास्तीले गाउँलेहरू आँगन भत्काएरै सडक फराकिलो बनाउन कस्सिएका हुन् ।
पोखरा–बागलुङ राजमार्गको छेउ डिमुवा बजारबाट गिज्यानसम्म सडक बनाउने काम अहिले तीव्र पारिएको छ । २०६० सालमा तत्कालीन बजेटले खनेको बाटो ३ मिटर मात्र चौडा थियो । ‘बाटो साँघुरो र भिरालो हुँदा जीपसमेत चल्दैन । बिरामी पर्दा डोकोमा बोकिएर जानुपर्छ,’ स्थानीय धनकुमारी श्रेष्ठले भनिन्, ‘गाडी चले सुबिस्ता हुने आशले आँगन भत्काएरै भए’नि सडक फराकिलो पारियो ।’ धनकुमारीसहित विष्णुप्रसाद श्रेष्ठ, लक्ष्मण श्रेष्ठलगायतको करीब १ दर्जन घरपरिवारले आँगन र खेत पुरेर सडक बनाउन सहयोग गरेका छन् ।
डिमुवाबाट ठाना हुँदै गिज्यान जोड्ने बाटो बनाउन स्थानीयले सक्रिय रूपमा श्रमदान गरिरहेका छन् । गाउँपालिकाले दिएको २४ लाख रुपैयाँले बाटोको स्तरोन्नति गर्ने काम भइरहेको छ । बाटो स्तरोन्नति भएपछि अब मालवाहक ट्रक, बससमेत सहज रूपमा आउजाउ गर्न सक्ने सडक निर्माण समितिका अध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले बताए । भिरालो र ग्रेड नमिलेको सडक सम्याएर अहिले ७ मिटर फराकिलो बनाइएको जानकारी उनले दिए ।
मोदीका गिज्यान, ठाना र देउराली तरकारीका पकेट क्षेत्र पनि हुन् । सडक स्तरोन्नति भएपछि यातायातमा मात्र नभई स्थानीय कृषि उपज बजारसम्म ल्याउन पनि सहज हुने अगुवा कृषक रामबहादुर नेपालीले बताए । ‘गाडी नचल्दा एक/डेढ घण्टाको बाटो तरकारी बोकेर बजार पु¥याउनुपथ्र्यो,’ उनले भने, ‘अब ढुवानीको टण्टै सकियो ।’ नाम मात्रको सडक हुँदा गाउँलेले पाएको सास्ती अबका दिन हट्ने अपेक्षा गरिएको छ ।