ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदूषण नियन्त्रणमा सरकारी उदासीनता : सवारीसाधनमा यूरो फोर मापदण्ड कहिले ?

May 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
वीरगञ्ज । वातावरणीय प्रदूषण नियन्त्रणका लागि सवारीसाधनको अद्यावधिक मापदण्ड कार्यान्वयनलाई सरकारले बेवास्ता गरिरहेको छ । प्रदूषण नियन्त्रण र दुर्घटनाको जोखीम न्यूनीकरणका लागि गत चैतदेखि २० वर्ष पुराना सवारीका साधन सञ्चालनमा रोक लगाएको सरकारले प्रदूषण नियन्त्रणका निम्ति यूरो फोर मापदण्डको कार्यान्वयनमा भने आलटाल गरिरहेको सरोकारका पक्षले बताएका छन् । नेपालमा सवारीसाधन आयात गर्दै आएका व्यवसायीले नै वायुप्रदूषण नियन्त्रणका लागि सवारीसाधनमा अद्यावधिक मापदण्ड लागू गरिनुपर्ने सुझाव दिइरहेका बेला सरकारी निकाय भने उदासीन देखिएका छन् । नेपालमा अहिले यूरो थ्री मापदण्डका सवारी साधान आयात भइरहेका छन् । यातायात व्यवस्था विभागले यूरो थ्री मापदण्डका सवारीसाधन आयातको अनुमति दिइरहेको छ । सबैभन्दा बढी गाडी आयात हुने वीरगञ्ज नाकाको भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवले यूरो थ्री मापदण्डका गाडी आयात भइरहेको बताए । ‘आयातकर्ताले यातायात व्यवस्था विभागको अनुमतिमा गाडी भिœयाउने हो । अहिलेसम्म यूरो थ्रीका गाडीमात्र आएको पाइएको छ,’ उनले आर्थिक अभियानसित भने । नेपालमा भित्रिएका यूरो थ्रीका गाडीमा प्रयोग हुने इन्धन भने १ वर्षदेखि यूरो फोर मापदण्डको आइरहेको छ । भारतले पर्यावरणीय प्रदूषणलाई कारण देखाउँदै अप्रिल २०१७ देखि यूरो फोरसरहको बीएस (भारत स्ट्याण्डर्ड) फोर लागू गरेर इन्धनमा समेत त्यही मापदण्ड अनिवार्य गरेपछि नेपालमा यूरो फोरको इन्धन आउन थालेको हो । यूरो फोर इन्धन आयात गरिरहेको नेपालले गाडीका लागि भने यो मापदण्ड लागू गरेको छैन । विगतमा पनि भारतमा लागू भएको १ वर्षपछि नेपालमा यूरो थ्री अनिवार्य गरिएको थियो । विसं २०६९ देखि यो मापदण्ड लागू भएको हो । भारतमा यूरो थ्रीका गाडीको दर्तामा प्रतिबन्ध लगाइएपछि त्यस्ता गाडी अहिले नेपालका आयातकर्ताले भित्र्याइरहेका छन् । यूरो थ्रीलाई रोक लगाउँदा भारतमा यो प्रविधिका ८ लाख २० हजार गाडी विक्री हुन बाँकी थिए । यूरोपेली देशहरूले निर्धारण गरेको यूरो मापदण्डलाई अन्य देशले मान्यता दिएर लागू गरेका छन् । यूरोपमा यूरो सिक्ससम्म लागू छ । यो मापदण्ड जति बढी भयो हानिकरक ग्यासको उत्सर्जन त्यति नै न्यून हुन्छ । भारतले केही महीनाअघि राजधानी दिल्लीमा बीएस सिक्सलाई अनिवार्य गरेको छ । सन् २०२० सम्ममा भारतभरि यो मापदण्डलाई लागू गर्ने उसको तयारी छ । वातावरण विनाश न्यूनीकरणका लागि यूरो फोर मापदण्डका गाडी तुलनात्मक प्रभावकारी हुने ओम्नी मोटर्स प्रालिका सञ्चालक सन्दीप मोहता बताउँछन् । ‘यसबाट पर्यावरणीय विनाशको जोखीम घटाउन सकिने भए पनि सरकारले कार्यान्वयनमा तदारुकता देखाएको पाइएन,’ उनले भने । यातायात व्यवस्था विभागका कतिपय अधिकारी अद्यावधिक मापदण्ड लागू गर्दा सवारीसाधनको लागतलाई समेत ध्यान दिनुपर्ने बताउँछन् । यूरो फोरको गाडी तुलनात्मक महँगो पर्ने तर्क एक अधिकारीले गरे । यूरो फोरको प्रयोगबाट लागतको तुलनामा इन्धन बचत र कामको प्रभावकारिता बढी हुने दाबी आयातकर्ताको छ । यूरो फोरको इन्धन र गाडीको प्रयोगले यूरो थ्रीको तुलनामा धूवाँ र हानिकारक अन्य ग्यासको उत्सर्जन कम हुने दाबी जानकारहरूको छ । यसबाट वातावरण बिगार्ने ग्यासको उत्सर्जन कम हुने र इन्धनको खपत पनि घट्ने दाबी मोहताले गरे । विभिन्न अध्ययनले वायुप्रदूषणमा सवारीसाधनको भूमिका अधिक रहेको देखाएका छन् । अध्ययनअनुसार वायुमण्डलमा रहेको कार्बनमोनो अक्साइड र नाइट्रोजन अक्साइडको परिमाणमध्ये सवारी साधनले ५० प्रतिशत उत्सर्जन गर्छन् । हाइड्रोकार्बनको एक चौथाइ पनि सवारी साधनबाटै निस्किने गरेको पाइएको छ । यस्ता हानिकारक ग्यासले श्वासप्रश्वास र मुटुसम्बन्धी घातक समस्याहरू तीव्ररूपमा बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)