अभियान संवाददाता
विराटनगर । भारतीय अवरोधका कारण नेपालको पूर्वी नाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात अवरुद्ध भएको छ । चियाको गुणस्तर परीक्षणलाई झन्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सृजना भएको हो ।
हाल भन्सार जाँचपास भएका ११ ओटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्याङ्कीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । नेपालबाट तयारी चिया कोलकातास्थित ‘सेण्ट्रल फुड ल्याब्रोटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ । झन्झटिलो प्रक्रियाले नेपाली चिया निर्यातमा समस्या सृजना भएको उनले बताए ।
पानीट्याङ्की भन्सारमा रोकिएको ट्रकमा १७ हजार किलोभन्दा बढी तयारी चिया रहेको व्यवसायी रोशन अग्रवालले जानकारी दिए । चिया बोकेको ट्रक वर्षाका बेला खुला ठाउँमा राख्दा चियाको गुणस्तर बिग्रने व्यवसायीले बताएका छन् । अहिले ट्रकपिच्छेको चियानको नमूना कोलकाता पठाएर गुणस्तर परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्था भारतले लागू गरेपछि चिया निर्यात रोकिएको हो । एकपटक चियाको नमूना परीक्षण गराउँदा भारू २५ हजार खर्च लाग्ने गरेको बताइन्छ । भारत निर्यात हुने चिया मात्रै होइन, तेस्रो देश निकासीका लागि भारतीय भन्सार पुगेका चियाका ट्रक पनि रोकिएका छन् ।