अभियान संवाददाता
काठमाडौं । नेपालका सृजनशील तथा प्रारम्भिक चरणका कम्पनीहरूको विकासमा सहयोग पु¥याउने उद्देश्यले वान टु वाच (ओटीडब्ल्यू) कम्पनीले उद्यम पूँजी कोष (भेञ्चर क्यापिटल फण्ड)को स्थापना गरेको छ । फण्डमा २० मिलियन यूरो छ । नेपालमा पहिलेदेखि नै लगानी व्यवस्थापनको काममा सक्रिय कम्पनी ट्रू नर्थ एशोसिएट्स (टीएनए)सँगको सहकार्यमा यो काम अघि बढ्ने भएको हो ।
यो सहकार्यबाट सम्बन्धित कम्पनीका लागि सहज रूपमा वित्तीय पहुँच कायम हुने ओटीडब्ल्यूले बताएको छ । यसअघि नै कम्पनीले नेपाल इम्प्याक्ट इन्भेष्टमेण्ट १ (एनआईआई सी १) सञ्चालन गरेको थियो । उक्त कार्यक्रमको सफलताका कारण एनआईआई सी २ शुरुआत गरिएको उसको भनाइ छ ।
यो सहकार्यमार्फत नेपालका साना तथा मध्यम आकारका उद्यम (एसएमईएस)को विकास तथा प्रवद्र्धनमा स्थानीयका साथै अन्तरराष्ट्रिय सह–लगानीले सघाउ पु¥याउने बताइएको छ ।
ओटीडब्ल्यू र टीएनएको सहकार्यले दुवैको अनुभव र विशेषज्ञता समाहित हुने विश्वास गरिएको छ । टीएनएका अध्यक्ष एवम् ओटीडब्ल्यूका प्रबन्ध निर्देशक सुमन जोशीले नेपालमा एसएमईएसको प्रभावकारी क्षमता भएको बताउँछन् । २४ वर्षभन्दा लामो बैङ्किङ क्षेत्रको अनुभव भएका उनले एसएमईएसको अभिवृद्धिका लागि सहयोगको खाँचो रहेको धारणा राख्छन् । ओटीडब्ल्यूका अध्यक्ष एवम् प्रबन्ध निर्देशक विलेम ग्रिमिङ्कले यसबाट नेपाली कम्पनीहरूलाई वित्तीय मात्र नभई अन्य धेरै सहयोग पुग्ने अपेक्षा गरे । आफूले सहयोग पुर्याएका कम्पनीको विकास द्रुत गतिमा अघि बढाउन सेवा र सहयोग विस्तार गरिने उनको प्रतिबद्धता छ ।