अभियान संवाददाता
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आइतवारदेखि ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ शुरू भएको छ । उक्त कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । जिल्लामा पर्यटकको उपस्थिति बढाउन म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजना र जिल्लास्थित स्थानीय तहको सहआयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको हो ।
सो अवसरमा मन्त्री अधिकारीले म्याग्दी पर्यटकीय दृष्टिकोणले देशमै महŒवपूर्ण क्षेत्र भएकाले पूर्वाधार तथा प्रचारप्रसारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘पदमार्गका लागि म्याग्दी हव हो, पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिनेछु ।’
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले निजीक्षेत्रले पर्यटन विकासमा लगानी शुरू गरेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले म्याग्दीमा आधा दर्जन हिमाल भए पनि सरकारले हिमाली जिल्ला घोषणामा चासो नदेखाएको बताउँदै हिमाली जिल्ला घोषणाको मागसमेत गरेका थिए ।
कार्यक्रमको पूर्वसन्ध्यामा तीन दर्जनभन्दा बढी सङ्घसंस्था बेनीबजार परिक्रममा गरी कालिपुल बसपार्क पुगेका थिए । उनीहरू म्याग्दी भ्रमण वर्षबारे लेखिएका ब्यानरसहित विभिन्न जातजातिका वेशभूषामा सजिएका थिए । भ्रमण वर्षकै अवसरमा म्याग्दी पर्यटन सूचना केन्द्रको समेत उद्घाटन गरिएको छ ।