ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मदिरामा पहिलोपल्ट मापदण्ड कार्यान्वयनमा

May 15, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । सरकारले मदिरामा निर्धारण गरेको मापदण्ड कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषद्बाट पारित भएर नेपाल राजपत्रमा प्रकाशित भएसँगै विभिन्न प्रकारका मदिरामा निर्धारण गरिएको मापदण्ड कार्यान्वयनमा आएको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले बताएको छ । विभागले मदिरामा हुने गरेको अल्कोहलको जथाभावी मात्राको कारणबाट मानव स्वास्थ्यमा नराम्रो असर पर्ने भन्दै मदिरामा अल्कोहोलको मात्रा निर्धारण गर्दै मस्यौदा बनाएको थियो । लामो समयदेखि कृषि विकास मन्त्रालयमा थन्किएको सो मस्यौदा केही समयअघि मात्रै पारित भएर नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले आर्थिक अभियानलाई बताए । विभागका अनुसार नेपालमा मदिरा उत्पादन गर्ने विषयमा गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जीवाणु र मानव स्वास्थ्यमा हुने हानिका बारे मापदण्ड नहुँदा निकै समस्या हुने गरेको थियो । हाल, सरकारले डिष्टिल्ड अल्कोहोलिक बेभरेजअन्तर्गत ह्वीस्की, रम, जीन, भोड्का र ब्राण्डी गरी पाँच प्रकारका मदिराका लागि मापदण्ड लागू गरेको छ । विभागका अनुसार मदिरामा पहिलोपटक मापदण्ड तोकिएको हो । यसअघि मदिराको नियमनका लागि कुनै पनि निकाय तथा निर्देशिका नहुँदा अल्कोहलको मात्रा जथाभावी हुने गरेको थियो । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै मदिरामा निश्चित मापदण्ड लागू गरिएको विभागका प्रवक्ता वस्तीले बताए । यस क्षेत्रलाई नियमनको दायराभित्र ल्याउन मदिरा उत्पादनसम्बन्धी न्यूनतम आधार मान्नुपर्ने शर्तसहित मापदण्ड कार्यान्वयनमा ल्याएको उनले स्पष्ट पारे । ‘अब सरकारले तोकेको मापदण्डभित्र रहेर स्वदेशी उद्योगले मदिरा उत्पादन गर्नुपर्ने हुन्छ,’ वस्तीले भने, ‘भारतलगायत तेस्रो मुलुकबाट आयात हुने मदिराजन्य पदार्थ पनि त्यही मापदण्डको हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।’ विभागले ह्वीस्की, रम, जीन, भोड्का र ब्राण्डीको कच्चा पदार्थ, प्रयोग हुने रसायन, मदिरामा मिथाइल वा स्प्रिटको मात्रा कति राख्नुपर्ने, प्रयोग हुने कच्चा पदार्थ र रसायनबाट मानव स्वास्थ्य र वातावरणमा पर्नसक्ने प्रतिकूल असरलगायत विषयलाई समेटेर मापदण्ड तयार पारेको हो । उक्त मापदण्डले मदिराजन्य पदार्थको उत्पादन, प्याकेजिङ, लेबलिङ, भण्डारण र ढुवानीसम्मको आधार तयार गर्नेछ । विभागका अनुसार मापदण्डमा, माल्ट ग्रेन, ब्लेण्डेड र अन्य प्रकारका ह्वीस्कीको हकमा अन्न वा स्टार्चजन्य खाद्य पदार्थलाई रासायनिक प्रक्रियाबाट फर्माण्टेशन गरी तयार पार्न सकिने व्यवस्था छ । त्यस्तै, ह्वीस्कीमा इथाइल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशतसम्म हुनुपर्ने उल्लेख छ । रम, ह्वाइट रम, फ्लेवर्ड रमको हकमा उखुको रस, उखुको गुड, उखुको सुगर बिट, सुगर बिट मोलासेसजन्य खाद्य पदार्थलाई फर्मान्टेसन गरी रम तयार गर्नसक्ने व्यवस्था रहेको छ । रममा कुनै प्रकारका पदार्थ तैरिएको हुनुहुँदैन । त्यस्तै भोड्का आलु, अन्न, मोलासेस वा कार्बोहाइड्रेटजन्य पदार्थको फर्मान्टेसन गरी तयार भएको हुनुपर्छ । ब्राण्डीमा तीन प्रकारको मापदण्ड तोकिएको छ । विभागका अनुसार अङ्गुरको ब्राण्डी ताजा, स्वस्थ र पाकेको अङ्गुरको फर्माण्टेशन जूसबाट मात्रै तयार गर्नुपर्ने छ । यस्तै फलफूलको ब्राण्डीको हकमा अङ्गुरबाहेक अन्य फलपूmलको फर्माण्टेशन जूसबाट तयार गर्नुपर्ने छ । त्यसैगरी ब्लेण्डेड ब्राण्डीको हकमा फलफूलको ब्रन्वा, न्यूट्रल स्प्रिट र रेक्टिफाइड स्प्रिटमा २ प्रतिशत अङ्गुरको ब्राण्डी मिसाएर तयार गर्न सकिने उल्लेख छ । जीनको हकमा भने जुनिपर बेरीको बाष्पशील तŒवको स्वाद भएको न्यूट्रल स्प्रिटबाट तयार गर्न सकिने मापदण्डमा उल्लेख गरिएको छ । मापदण्डविपरीत न्यून गुणस्तरको मदिरा उत्पादन गरिएको अवस्थामा खाद्य ऐनअनुसार कारबाही गर्ने व्यवस्था रहेको छ । यसका साथै स्वदेशी उत्पादक र आयातकर्ताले पनि विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्रसमेत लिनुपर्ने व्यवस्था रहेको विभागले बताएको छ । त्यस्तै, लेबलमा उत्पादकको नाम, ठेगाना, इथाइल अल्कोहलको मात्रा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ । मदिराजन्य पदार्थको लेभलमा स्वास्थ्यसम्बन्धी कुनै पनि विषयवस्तु दाबी गर्न नपाइने, उत्पादन, स्रोत तथा अन्य गुणका बारेमा भ्रामक जानकारी दिन नपाउनेजस्ता विषय मापदण्डमा व्यवस्था गरिएको विभागले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)