अभियान संवाददाता
काठमाडौं । मयूर यातायातले आफ्नो सेवा विस्तार गर्न लागेको छ । राजधानीसहित बनेपासम्म बससेवा सञ्चालन गरेको यो कम्पनीले २ महीनाभित्र थप ६ जिल्लामा सेवा विस्तार गर्न लागेको हो । निकट भविष्यमै दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, पोखरा (कास्की) र लुम्बिनी (कपिलवस्तु)मा समेत सेवा सञ्चालनको तयारी थालिएको कम्पनीले बताएको छ ।
काठमाडौं–पोखरा–लुम्बिनी रूटमा चलाउन ३० ओटा ठूला एसी बस ल्याउन लागिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै, दोलखा, रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लालाई लक्षित १ सयओटा आरामदायी ठूला बस ल्याउने तयारी भएको उनले बताए । ‘नयाँ बस बनाउन दिइसकेका छौं,’ उनले भने, ‘२ महीनाभित्र नेपालमा आइपुग्छ ।’
यो साता २४ नयाँ बस सञ्चालन हुँदै
मयूर यातायातले उपत्यकाभित्र चारओटा नयाँ बस सञ्चालन गर्ने भएको छ । थपिएका बस यही सातादेखि उपत्यकामा सञ्चालन हुने बताइएको छ । ‘२४ ओटा नयाँ बस सञ्चालनको तयारीमा छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यी बस ३७ र ४२ सीट क्षमताका हुनेछन् ।’ सञ्चालनमा आउन लागेका बसमा रङरोगन हुँदै गरेको उनको भनाइ छ । यी बसको खरीद मूल्य भुक्तानी भइसकेको समेत उनले बताए । उनका अनुसार कम्पनीले थप ४५ ओटा बस सञ्चालनको योजना बनाएको छ ।
सिण्डिकेटको ठूलो अवरोध तोड्दै मयूर यातायातले अहिले उपत्यकाका हजारौं यात्रुलाई बससेवा दिइरहेको छ । कम्पनीका बस रत्नपार्कदेखि बानेश्वर, कोटेश्वर हुँदै बनेपा–धुलिखेलसम्म चल्छन् । कम्पनीले अशक्त तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिएको छ । थपिन लागेका नयाँ बसहरू चक्रपथ–रत्नपार्क–त्रिपुरेश्वर–टेकु–कालिमाटी–कलङ्की– थानकोट रूटमा चल्ने बताइएको छ ।
कम्पनीले अहिले २४ ओटा बसमार्फत सेवा दिइरहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार अबको केही महीनामै राजधानीबाहिर पनि मयूर यातायात सञ्चालन हुनेछन् ।