जेठ ६, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नेपाल इस्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडलाई स्थापनाको लागि आईतवार सैद्धान्तिक सहमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैङ्कका गर्भनर डा. चिरञ्जीवि नेपालले एक समारोहका बिच ६ महीना भित्रमा बैङ्क सञ्चालन गर्ने शर्त सहित सैद्धान्तिक सहमति पत्र प्रदान गरेका हुन् ।
नेपाल इस्फ्रास्ट्रक्चर बैङ्क सैद्धान्तिक सहमति प्राप्त भएको मितिले ६ महीना भित्रमा बैङ्क सञ्चालन गर्न आवश्यक पूर्वाधार जुटाई अनिवार्य रुपमा वित्तीय कारोबार गर्ने अनुमतिका लागि केन्द्रिय बैङ्कमा निवेदन दिनु पर्नेछ । उक्त बैङ्क लिमिटेडको चुक्तापूँजी २० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक समूहको तर्फबाट १२ अर्ब रुपैयाँ र सर्वसाधारण समूहको तर्फबाट ८ अर्ब रूपैयाँ शेयर पूँजी रहने छ । बैङ्कमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडमा नेपाल सरकार, विभिन्न वाणिज्य बैङ्कहरु, बीमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानी रहेको छ । यो बैङ्क पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्न, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको हो । यसका साथै, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरीद, विक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतित पत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने लक्ष्य अनुरुप यो बैङ्क सञ्चालन हुन लागेको हो ।
यसबाहेक सो बैङ्कले राष्ट्र बैङ्कको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक पूँजी जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, लिजीङ्ग कारोबार गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार र डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्नुपर्नेछ । उक्त बैङ्कले विदेशी बैङ्क तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्नेे छ । उक्त बैङ्कको स्थापनापछि नेपालको ठूला परियोजनामा लगानी गर्नका लागि पूँजी परिचालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।