ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

श्वेतपत्रको कार्यान्वयनमा कुलमानको सक्रियता : छिटो प्रसारण लाइन बनाउन सोलु करिडोरमा ताकेता

May 21, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही समयअघि सार्वजनिक गरेको श्वेतपत्रमा निर्माणाधीन प्रसारण लाइनहरू छिटो सम्पन्न गर्न प्राथमिकता दिने उल्लेख गरिएको छ । प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइले सम्बन्धित करिडोरहरूमा उत्पादित विद्युत् खेर जान नदिन त्यसो गर्न लागिएको मन्त्री पुनको भनाइ छ । उक्त योजनाको कार्यान्वयन अनुरूप मन्त्री पुनको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सोलु करिडोर पुगेका थिए । घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिङ्लामा निर्माणाधीन १३२/३३/११ केभी सब–स्टेशन र प्रसारण लाइनको शुक्रवार, शनिवार र आइतवार स्थलगत निरीक्षण गरेको हो । सो क्रममा उनले उक्त करिडोरमा निर्माणाधीन १ सय ३२ केभी प्रसारण लाइनको आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका छन् । परेका अप्ठ्यारा हल गर्न सम्बन्धित ठाउँमा कुरा लैजाने आश्वासन दिँदै घिसिङले निर्माणको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । ‘प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गरिदिन ऊर्जा र वन मन्त्रीलाई आग्रह गर्छु,’ उनले भने, ‘तपाईंहरू यहाँको काम राम्रो र छिटो गर्नुहोस् ।’ निर्माण प्रगतिको नियमित अनुगमन हुने भन्दै घिसिङले समयमै काम नसकिए आयोजना प्रमुख र ठेकेदार कम्पनीले जिम्मेवारी लिनुपर्ने चेतावनी पनि दिए । ‘यदि प्रसारण लाइन तथा सबस्टेशन तोकिएको समयमा बनाउन नसकेर विद्युत् खेर जाने अवस्था सिर्जना भएमा प्राधिकरणले निजी आयोजनालाई तिर्नुपर्ने पेनाल्टी ठेकेदारबाट असुल गर्नेछौं,’ घिसिङले भने । सुपरसिक्समध्येका २ आयोजना तल्लो सोलु (८२ मेवा) र माथिल्लो सोलु (२३ दशमलव ५ मेवा) यसै करिडोरमा पर्दछन् । उक्त आयोजनाहरू ऊर्जा सङ्कटलाई सम्बोधन गर्ने अवधारणाअनुरूप छनोट भएका ६ मध्येका आयोजना हुन् । उक्त आयोजना निर्माण सम्पन्न हुँदासम्म प्रसारण लाइन तयार नभई विद्युत् खेर गएमा प्राधिकरणले उक्त आयोजनाले कुल विद्युत् बिक्रीबाट गर्ने आम्दानीको ४५ प्रतिशत सम्बन्धित आयोजनालाई पेनाल्टी तिर्नुपर्छ । जसमध्ये माथिल्लो सोलु निर्माणको अन्तिम अन्तिम चरणमा पुगेको छ । साथै सोही प्रसारण लाइन बन्ने भएपछि सोलु खोलामा निजी क्षेत्रका कुल १ सय १२ मेवा क्षमताका अन्य ४ जलविद्युत् आयोजना पनि निर्माण भइरहेका छन् । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैङ्कको सहुलीयत ऋणमा निर्माण भइरहेको उक्त प्रसारण आयोजना सन् २०१९ को मार्चमा सक्ने लक्ष्य निर्धारण गरिएको छ । तिङ्ला–ओखलढुङ्गा–उदयपुर–मिर्चैया (सिराहा) ९० किलोमिटरमा कुल ३ सय ३ टावर निर्माण गर्नुपर्छ । त्यसमध्ये हालसम्म ५० टावरको जग हालिएको छ भने पाँचओटा खडा गरिएको आयोजना प्रमुख जनार्दनप्रसाद गौतमले जानकारी दिए । ‘सिराहा र उदयपुरतर्पmबाट काम शुरू गरेका छौं’, उनले भने, ‘वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या तत्काल समाधान भए निर्धारित समयमै काम सकिन्छ ।’ ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिङ्लामा सबस्टेशन बनाइसक्ने प्रतिबद्धता व्यक्त गरेको छ । ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै २ वर्ष ढिला शुरू भएको थियो । कार्यकारी निर्देशक घिसिङले कामलाई तीव्रता दिन श्रमिकको सङ्ख्या बढाउन ठेकेदारलाई निर्देशन दिएका छन् । प्राधिकरणले सोलु करिडोर निर्माणमा केही ढिलाइ हुने देखेपछि माथिल्लो सोलुको आंशिक विद्युत् जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । यसअनुरूप ओखलढुङ्गाबाट ३३ केभी प्रसारण लाइन ल्याई तिङ्लामा ३३/११ केभीको सव स्टेसनमा जोड्न लागिएको हो । निर्माणाधीन उक्त प्रसारण लाइन तथा सबस्टेशनको काम ६ महीनाभित्रमा सकिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)