अभियान संवाददाता
दैलेख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडकविना विकासका अरू पूर्वाधार पूरा गर्न नसकिने हुँदा प्रदेश सरकारको मुख्य प्राथमिकता सडक निर्माण रहेको बताए । सोमवार दैलेखको माथिल्लो डुङ्गेश्वरमा भारतीय सीमा नाका जमुनाह हुँदै उत्तरी चीन छुने मुगुको नाङचेनाङ्ला जोड्ने प्रादेशिक सडकको निर्माण कार्य शिलान्यासका क्रममा उनले यस्तो बताएका हुन् ।
जमुनाह, कोहलपुर, सुर्खेत, माथिल्लो डुङ्गेश्वर, दुल्लू, कुसापानी, नाग्म, गमगढी हुँदै उत्तरी नाका नाङचेनाङ्ला जोड्ने सडकको निर्माण शुरू गरिएको छ । प्रदेश सरकारले प्रादेशिक सडकको रूपमा निर्माण अघि बढाएको यो पहिलो सडक हो । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले यस सडकलाई प्रदेशकै गौरवको आयोजनाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सडक पूर्वाधारलाई नै जोड दिने उनले स्पष्ट पारे ।
यो सडकको दैलेखको उत्तरी सिमाना ब्याउली लेकसम्म ट्र्याक खोलिनेछ । केन्द्र सरकारको क्रमागत योजना भए पनि प्रदेशले निर्माणमा सक्दो सहयोग गर्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । केन्द्र सरकारको ३ करोड ३५ लाख १६ हजार ९ सय २० रुपैयाँ लागतमा उक्त सडक निर्माण हुँदै छ । सडक डिभिजन कार्यालय सुर्खेतले कार्यान्वयन गरिरहेको सडक केएसके कन्ष्ट्रक्शन कम्पनीले निर्माण गर्ने जिम्मा पाएको छ । ७ मिटर चौडाइ रहेको सडक पहिलो चरणमा साढे ३३ किमी लामो हुनेछ । यसअघि तत्कालीन जिल्ला विकास समिति र गाविसको सहयोगमा माथिल्लो डुङ्गेश्वर–दुल्लू जोड्ने गरी ट्र्याक पूरा भइसकेको थियो । गत आवमा सडक विभागले १ करोड रुपैयाँ खर्चेर स्तरोन्नतिसमेत गरेको थियो ।