अभियान संवाददाता
काठमाडौं । चालू आवको तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरेका १७ ओटा वित्त कम्पनीमध्ये चारओटाको मात्र नाफा बढेको छ । १३ ओटा वित्त कम्पनीको नाफा भने घटेको छ । सञ्चालन मुनाफा ऋणात्मक रहेको, कर्मचारी खर्च, अन्य सञ्चालन खर्च बढ्दै गएको र खराब कर्जा असुली हुन नसकेकाले नाफा घटेको यी कम्पनीको वित्तीय विवरणले देखाउँछ ।
यो अवधिमा नाफा बढेका चार कम्पनीको पनि सञ्चालन मुनाफा ऋणात्मक छ । खराब कर्जा असुली र खुद ब्याज आम्दानी बढेको हुँदा उनीहरू नाफा बढाउन सफल देखिएका हुन् ।
वित्त कम्पनीमध्ये हाथवे फाइनान्सको नाफा १६ गुणा अर्थात् १ हजार ५ सय ५७ प्रतिशत बढेको छ । यस कम्पनीले गत आवको सोही अवधिमा रू. १० लाख ७१ अजार नाफा आर्जन गरेको थियो भने तेस्रो त्रैमासमा रू. १ करोड ७७ लाख नाफा कमाएको छ । यो अवधिमा उसको नाफामा उल्लेख्य सुधार भएको देखिन्छ । चालू आवको दोस्रो त्रैमासम्ममा कम्पनीको नाफा रू. ८७ लाख २२ हजार थियो । सञ्चालन मुनाफा ऋणात्मक रहे पनि खराब कर्जा रू. ३ करोड ५५ लाख सङ्कलन गरेकाले उसको नाफा बढेको हो ।
चालू आवको तेस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सको नाफा ४९ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा रू. ३ करोड ६५ लाखभन्दा बढी नाफा आर्जन गरेकोमा अहिले बढेर रू. ५ करोड ४६ लाख पुगेको छ । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेपछि उसको नाफामा वृद्धि भएको हो ।
बेष्ट फाइनान्स कम्पनी लिमिटेडको गत आव ऋणात्मक रहेको नाफा चालू आवको तेस्रो त्रैमासमा धनात्मक भएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा रू. २ करोड ५० लाख ऋणत्मक थियो भने चालू आवको तेस्रो त्रैमासमा रू. ३ करोड ४६ लाख धनात्मक भएको छ । तर, कम्पनीको नाफा दोस्रो त्रैमासको तुलनामा भने बढ्न सकेको छैन । दोस्रो त्रैमासमा कम्पनीले रू. ३ करोड ५९ लाख नाफा कमाएको थियो ।
गोर्खाज फाइनान्स कम्पनीको नाफा गत आवको तुलनामा ९५ प्रतिशत घटेको छ । गत आवको तेस्रो त्रैमासमा रू. १० करोड नाफा आर्जन गरेको कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ५१ लाख ६ हजार कमाएको छ । कम्पनीको नाफा चालू आवको दोस्रो त्रैमासको तुलनामा समेत घटेको देखिन्छ । दोस्रो त्रैमासमा उसको रू. २ करोड २४ लाख नाफा थियो । प्रोग्रेशिभ फाइनान्स कम्पनीको नाफा ऋणात्मक छ । गत आवमा रू. १ करोड १६ लाख नाफा आर्जन गरेको कम्पनीको नाफा चालू आवको तेस्रो त्रैमासमा रू. ९७ लाख ११ हजार ऋणात्मक छ । कम्पनीको नाफा दोस्रो त्रैमासमा समेत ऋणात्मक रहेको विवरणमा देखिन्छ ।