अभियान संवाददाता
काठमाडौं । धितोपत्र बजारमा हाल सूचीकृत १८ मध्ये १७ जलविद्युत् कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीमध्ये अधिकांश कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ । राधी विद्युत् कम्पनीले तेस्रो त्रैमासमा रू. ४ करोड २३ लाख नाफा आर्जन गरेको छ । कम्पनीले यसपालि पहिलो पटक वित्तीय विवरण सार्वजनिक गरेको हो । सो कम्पनीले गत आवको वित्तीय विवरण देखाएको छैन ।
यो अवधिमा नाफा बढाउनेमा कम्पनीहरूमा सिनर्जी पावर, युनाइटेड मोदी, रिडी हाइड्रो र ङादी ग्रूप छन् । गत आवसम्म नोक्सानीमा रहेको वरुण हाइड्रो र अघिल्लो त्रैमाससम्म नोक्सानीमा रहेको नेशनल हाइड्रोले भने यस त्रैमासमा नाफा सुधारेका छन् । गत आवसम्म रू. ५९ लाख ८ हजार नोक्सानी बेहोरेको वरुण हाइड्रोले यो त्रैमासमा रू. १ करोड ६७ लाख ६० हजार नाफा गरेको छ भने अघिल्लो त्रैमाससम्म रू. ९७ लाख २१ हजार नोक्सानीमा रहेको नेशनल हाइड्रोले रू. २ करोड ३८ लाख २७ हजार नाफा गरेको छ ।
अरुण काबेली, दिव्येश्वरी र खानीखोला जलविद्युत् कम्पनीले भने यो त्रैमासमा पनि नोक्सानी बेहोरेका छन् । यीमध्ये अरुण काबेली गत आवभन्दा यो आव नोक्सानी घटाउँदै गएको देखिन्छ । कम्पनीको यस आवमा गत आवको भन्दा ६३ प्रतिशत नोक्सानी घटेको छ । दिव्येश्वरी र खानीखोलाको भने नोक्सानी रकम बढेको छ ।
यस आव नाफामा कमी आएका कम्पनीहरूमा अपी पावर, अरुण भ्याली, बुटवल पावर, छ्याङ्दी, चिलिमे, नेपाल हाइड्रो डेभलपर र सानिमामाई हाइड्रो छन् । यस समयमा खोलामा पानीको बहाव कम हुने भएकाले विद्युत् विक्रीबाट हुने आम्दानी पनि घटेकाले नाफा खस्किएको सम्बन्धित कम्पनीले बताएका छन् । हिमालयन पावरको वित्तीय विवरणमा भने आम्दानी र खर्चको विवरण समावेश छैन । यस कम्पनीको प्रोजेक्ट निर्माण भइरहेको हुँदा आम्दनी भएको र खर्च पूँजीकृत गरिएको ।