सङ्घीय बजेट : महत्वाकाङ्क्षी योजनाका कारण बजेटको आकार ठूलो
May 29, 2018
 
समाचार
अभियान संवाददाता
काठमाडौं । सङ्घीय अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा मङ्गलवार आर्थिक वर्ष २०७५/७६ को बजेट पेश गर्दै छन् । दिउँसो ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । सङ्घीय मोडलमा ल्याउन लागिएको बजेटको आकार रू. १५/१६ खर्बको हाराहारीमा रहने अनुमान छ । राजस्वका दरदेखि दायरासम्म फराकिलो बनाई ठूलो आकारको बजेट प्रस्तुत गर्न लागिएको अर्थमन्त्री निकट स्रोतले जानकारी दियो ।
आव २०६५/६६ मा अर्थमन्त्री डा. बाबुराम भट्टराईले रू २ खर्ब ३६ अर्बको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेट अघिल्लो आवको तुलनामा ४० प्रतिशत ठूलो थियो । ठूलो आकारको बजेट ल्याइएको भन्दै त्यसबेला तत्कालीन अर्थमन्त्री डा. भट्टराईको आलोचनासमेत भएको थियो । प्रत्येक सरकारले महत्वाकाङ्क्षी योजना ल्याउने गर्नाले बजेटको आकार ठूलो हुँदै गएको छ । अर्थमन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले सङ्घीयता कार्यान्वयनका चुनौतीका कारण बजेटको आकार यस वर्ष बढाउनुपर्ने दबाब रहेको बताए । अर्थमन्त्रालयलाई राष्ट्रिय योजना आयोगले रू. १२ खर्ब ४ अर्बको सीमा तोकेको थियो तर अर्थमन्त्रालयले उक्त सीमालाई नाघ्दै बजेट ल्याउने भएको हो ।
सङ्घीयता कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राख्दै पूर्वाधार विकास, गरीबी न्यूनीकरण, रोजगार अभिवृद्धि, वित्तीय क्षमता सुधार, सार्वजनिक खर्च व्यवस्थापन, व्यापार घाटा न्यूनीकरण र सामाजिक विकास लगायत बजेटको मूल आधार हुने बताइएको छ । मन्त्रालयका अनुसार ‘सुखी नेपाली, समृद्ध नेपाल’को मूल नीतिलाई बजेटले सम्बोधन गर्नेछ । बजेटले वित्तीय अनुशासनलाई कडाइ गर्ने र सार्वजनिक खर्चलाई नियन्त्रण गर्नेसमेत बताइएको छ ।