अभियान संवाददाता
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा साढे २४ अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलवार सङ्घीय संसद्मा प्रस्तुत गरेको बजेटमा पर्यटनतर्फ ५ अर्ब २० करोड ३४ लाख र उड्डयनतर्फ १९ अर्ब ५५ करोड गरी कुल रू. २४ अर्ब ५५ करोड ३४ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा सरकारले निजगढ विमानस्थल शुरू गर्ने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तार, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने र गौतमबुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरिनुका साथै दाङमा वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख गरेको छ ।
यसैगरी विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तरोन्नति गरी छिमेकी मुलुकहरूमा उडान शुरू गरिने बजेट वक्तव्यमा उल्लेख छ । त्रिभुवन विमानस्थलको हवाई चापलाई व्यवस्थित गर्न काभ्रेमा वैकिल्पक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने र आन्तरिक विमानस्थलसम्बन्धमा गुरुयोजना तयार पारिने बताइएको छ ।
नेपालको हवाई उडड्यन क्षेत्रलाई सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन उच्चतम प्रविधिको प्रयोग र प्राविधिक जनशक्तिको विकास गरिनुका साथै विपद् प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपत्कालीन उद्धार गर्न हेलिप्याड नपुगेका सबै स्थानीय तहमा स्थानीय तहले उपलब्ध गराउने जग्गामा हेलिप्याड निर्माण गरिने बजेटमा उल्लेख छ ।
रू. २० लाख पर्यटक भित्र्याइने
सरकारले सन् २०२० लाई भिजिट नेपाल २०२० को रूपमा घोषणा गरी २ वर्षभित्र २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । यसअघि नै सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने भने पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्यसलाई संशोधन गर्दै २ वर्षभित्र १५ लाख पर्यटक ल्याउने बताएका थिए । बजेटमा अर्थमन्त्रीले पेश गरेको पर्यटन ल्याउने लक्ष्य र विभागीय मन्त्रीको लक्ष्यमा ५ लाख पर्यटकको अन्तर देखिएको छ । सरकारले अन्तरराष्ट्रिय बजारमा नेपालको पर्यटनको प्रचारप्रसार र बजारीकरण गर्न विदेशस्थित नियोगहरूलाई परिचालन गरिने योजना अघि सारेको छ ।
यसैगरी सरकारले सय ओटा पर्यटकीय गन्तव्य पहिचान गरी प्रवर्द्धन गर्ने भएको छ । पर्यटन प्रवर्द्धनको लागि पहिले देश अनि विदेशको भावनाअनुरूप पर्यटन प्रवद्र्धन गरिने भएको छ । यसैगरी स्तरीय होटल तथा पर्यटन पूर्वाधारको विकासमा जोड, सबै सांस्कृतिक संस्थानलाई एउटै प्रभावकारी सांस्कृतिक संस्थानको रूपमा गाभिने, कीर्तिपुर सांस्कृतिक सङ्ग्रहालय, पर्यटनका लागि आर्थिक कूटनीतिको प्रयोग गरिने अर्थमन्त्रीको बजेट वक्तव्यमा उल्लेख छ ।
नाथम मानित विश्वविद्यालय
नेपाल पर्यटन तथा होटल प्रतिष्ठान (नाथम)लाई मानित विश्वविद्यायलका रूपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गरिने भएको छ । पर्यटन मन्त्रालयले यसअघि नाथमलाई मानित विश्वविद्यालयको रूपमा अघि सार्ने योजना अघि सारेको थियो ।