ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय बैठक : १८ बुँदे कार्यसूची प्रस्तुत

May 31, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नेपाल–बङ्गलादेश चौथो वाणिज्य सचिवस्तरीय बैठक काठमाडौंमा बुधवारदेखि शुरू भएको छ । दुई देशबीचको व्यापारघाटा कम गर्दै व्यापार प्रवर्द्धनको विषय पहिल्याउने उद्देश्यसहित उक्त बैठकको आयोजना गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । बङ्गलादेशमा विगत १ दशकभन्दा लामो समयदेखि अवरुद्ध नेपाली धागो निकासीलाई पुनः निर्यात गर्नुपर्ने विषयलाई मन्त्रालयले बैठकको प्रमुख एजेण्डाका रूपमा प्रस्तुत गरेको छ । यसबाहेक २ वर्षअघि बङ्गलादेशको ढाकामा सम्पन्न तेस्रो बैठकमा सहमति भएको विषय कार्यान्वयन तथा प्रगतिबारे विचारविमर्श गरिएको मन्त्रालयका सूचना अधिकारी रामकृष्ण अधिकारीले बताए । बैठकको पहिलो दिन चिया, कफी, अलैंची, अदुवा, औषधिजस्ता वस्तु, कुचो, फलफूल, धागो, दाल, पश्मिना, हस्तकलाका सामग्रीलगायत तुलनात्मक लाभका नेपाली उत्पादनलाई बङ्लादेश प्रवेशमा भन्साररहित सुविधा उपलब्ध गराउने विषयमा आग्रह गरिएको छ । नेपालको तर्फबाट १८ बुँदे कार्यसूची प्रस्तुत गर्दै नेपाल र बङ्गलादेशका औषधि उत्पादक कम्पनीका उत्पादन दुवै देशका बजारमा सहज रूपमा पुर्‍याउनुपर्ने विषयमा छलफल भएको हो । वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र बङ्गलादेशी समकक्षी शुभाशिष बोष नेतृत्वको प्रतिनिधिमण्डलबीच आपसी पर्यटन प्रवर्द्धन, विराटनगर र भद्रपुरबाट बङ्गलादेशको सैयदपुर हवाई सम्पर्क स्थापनासम्बन्धी सम्भावनाको खोजी, दुवै देशमा आयोजना हुने अन्तरराष्ट्रिय व्यापार मेलामा एकअर्काको सहभागिता, नेपाल र बङ्गलादेशबीच जलविद्युत् उत्पादनका क्षेत्रमा साझेदारीबारे पनि छलफल केन्द्रित रहेको छ । जलविद्युत् उत्पादनका क्षेत्रमा द्विपक्षीय साझेदारी गर्न नेपाल र बङ्गलादेशबीच ऊर्जाक्षेत्र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने मितिसमेत यस बैठकबाट निर्धारण हुनसक्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयका अनुसार बैठकमा दुवै देशका भन्सार अधिकारीहरूको संयुक्त समिति गठन, दुई देशबीचका सम्बन्धित निकायबीच व्यापारका प्राविधिक अवरोध र स्यानिटरी एण्ड फ्याटो–स्यानीटरीबीचको सम्मेलनले समेत स्थान पाएको छ । त्यस्तै, स्थल र हवाईमार्गबाट बङ्गलादेश प्रवेश गर्ने नेपालीलाई प्रवेश बिन्दुमा नै ‘आगमन प्रवेशाज्ञा’, बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई दीर्घकालीन प्रवेशाज्ञा जारीको व्यवस्था, दुई देश बीचका व्यापारी तथा लगानीकर्तालाई व्यापारिक प्रवेशाज्ञाको व्यवस्था गर्नेसम्बन्धी ठोस निर्णय गर्ने विषयमा कार्यसूची प्रस्तुत गरिएको छ । नेपालको साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सार्वजनिक संस्थासँग बङ्गलादेशका व्यापारिक संस्थाबीच सहयोग प्रवर्द्धन गर्ने र दुई देशबीच द्विपक्षीय व्यापार लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा)बारे आजको बैठकमा ठोस छलफल हुने भएको छ । बैठकमार्फत विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, स्थलमार्गबाट नेपाली धागो बङ्गलादेशका बजारमा पु¥याउनेजस्ता विषयमा ठोस निर्णय हुने मन्त्रालयको अनुमान छ । बैठकमा समावेश भएका अन्य एजेण्डा
  • नेपालका ट्रक तथा यात्रुवाहक सवारीलाई विनारोकटोक चटगाउँ र मोङ्ग्ला बन्दरगाहसम्म पहुँच
  • दुवै देशलाई थप हवाई एवम् स्थलमार्गबाट जोड्दै व्यापार र पारवहन सम्बन्ध विस्तार
  • दुवै देशका मालवाहक सवारी सञ्चालनको ढाँचा टुङ्ग्याउने
  • दुइपक्षीय व्यापार विस्तारका निम्ति प्रशासनिक एवम् अन्य प्रक्रियाको सरलीकरण
  • ढाका–काठमाडौं बससेवा सञ्चालनसम्बन्धी व्यवस्था पुनरवलोकन
  • सहमति भएका पारवहन बिन्दु तथा भन्सार नाकामा भौतिक पूर्वाधारको स्तरोन्नति
  • बङ्लादेश, भारत र नेपालबीच त्रिपक्षीय पारवहन सम्झौतामा दुवै देशका अधिकारीबीच छलफल
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)