अभियान संवाददाता
काठमाडौं । कोरियाली राष्ट्रपति मुन जे इनले नुवाकोटको एक विद्यालयलाई व्यक्तगत रूपमा ५ लाख र कोरियाली जनताको ९ लाख ५० हजार गरी १३ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । ३ वर्षअघिको प्रतिबद्धताअनुसार मुनले उक्त सहयोग रकम पठाएको उनको नेपाल भ्रमणमा १५ दिनसम्म गाइड गरेका भक्तराम लामिछानेले बताए ।
भूकम्प गएको १ वर्षपछि नेपाल भ्रमणमा आएका मुनले भुइँचालोले ध्वस्त आरुखर्क माविको अवलोकन गरेका थिए । विद्यालयको अस्थायी संरचना बनाउने काममा स्वयम्सेवासमेत गरेका उनले त्यही बेला रू. १ लाखबराबरको विज्ञान प्रयोगशाला सामग्री उपलब्ध गराएका थिए । आफू स्वदेश फर्केपछि पनि सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए । त्यस बेला उनी राष्ट्रपति निर्वाचित भइसकेका थिएनन् ।
रसुवाको लाङटाङदेखि गोसाइकुण्डसम्म ट्रेकिङ गरेका मुनले पठाएको सहयोग रकमले बेलकोटगढी नगरपालिकास्थित उक्त विद्यालयमा तारबार एवम् खानेपानीको व्यवस्था गरिने म्याप नेपाल ट्राभल, ट्रेक एण्ड एक्सपिडिशनका प्रबन्ध सञ्चालक लामिछानेले जानकारी दिए । उक्त सहयोग रकममा राष्ट्रपति मुनलाई माया गर्ने कोरियाली सहयोगी जनताको योगदान ठूलो छ ।
३ वर्षअघि भ्रमणका क्रममा आप्रवासी कामदारको संस्था एशियन फोरमका पदाधिकारीले मुनलाई भेट गरी कोरियामा रहेका आप्रवासी कामदारको समस्याबारे जानकारी गराएका थिए । जवाफमा मुनले त्यसमा पनि पहलकदमी लिने वचन दिएका थिए ।
३ वर्षअघि मुनको नेपाल भ्रमणको व्यवस्थापन म्याप नेपाल ट्राभल, ट्रेक एण्ड एक्सपिडिशनले गरेको थियो । हाल उक्त विद्यालयको भवन जापान अन्तरराष्ट्रिय सहयोग संस्था जाइकाले निर्माण गर्ने प्रतिबद्धता गरेको विद्यालय स्रोतले बताएको छ । तर, आजसम्म पनि विद्यार्थी अस्थायी टहरोमै पढ्न बाध्य छन् ।