अभियान संवाददाता
काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को पहिलो ९ महीनामा वाणिज्य बैङ्कहरूले शेयर धितोमा रू. ३६ अर्ब १७ करोड कर्जा प्रवाह गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ९९ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा यी बैङ्कले शेयर धितोमा रू. ३४ अर्ब लगानी गरेका थिए ।
सो अवधिमा मार्जिन लेण्डिङमा लगानी बढे पनि यो रकम बैङ्कहरूले प्रवाह गरेको कुल कर्जाको करीब २ प्रतिशत मात्र हुन आउँछ । उक्त अवधिमा वाणिज्य बैङ्कहरूको कर्जा तथा सापटी २१ प्रतिशत बढेकाले कुल कर्जामा मार्जिन लेण्डिङको अनुपात कम देखिएको हो । मौद्रिक नीतिअनुसार बैङ्क तथा वित्तीय संस्थाहरूले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । साथै, एउटै सूचीकृत कम्पनीको शेयरमा यस्तो कर्जा आफ्नो प्राथमिक पूँजीको बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था छ ।
चैत मसान्तसम्ममा २८ वाणिज्य बैङ्कमध्ये २५ बैङ्कले मात्र मार्जिन कर्जा प्रदान गरेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई र कृषि विकास बैङ्कले भने शेयर धितोमा कर्जा प्रवाह गरेका छैनन् ।
चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार माछापुच्छ्रे बैङ्कले शेयर धितोमा सबैभन्दा धेरै कर्जा प्रवाह बढाएको देखिन्छ । गत आवको तुलनामा उसले यस्तो कर्जा १० गुणा बढाएर रू. ३८ करोड ३ लाख पुर्याएको छ । तर, रकमको आधारमा भने एनसीसी बैङ्कले सबैभन्दा धेरै अर्थात् रू. ३ अर्ब ८७ करोड मार्जिन लेण्डिङ कर्जा प्रवाह गरेको छ । तैपनि यो गत आवको तुलनामा १२ प्रतिशत कम हो