अभियान संवाददाता
हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने बताएका छन् । प्रदेश नम्बर ३ को १६औं बैठकलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा निजीकरण गरिएका उद्योग निकै महŒवपूर्ण रहेको बताए ।
कपडा उद्योग सञ्चालनका लागि नयाँ मेशिन ल्याइने उनको भनाइ छ । उनले निजीक्षेत्रको सहकार्य रहने गरी हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याएर हाल भइरहेको कपडा आयात प्रतिस्थापन गरिने बताए । उनले निर्माणको क्षेत्रमा रहेको सिण्डिकेट तोडिने दाबी गरे । अहिले देशको अर्थतन्त्र नाजुक रहेको भन्दै पूँजीबजार अस्वस्थ बन्दै गएकोमा प्रम ओलीले चिन्ता व्यक्त गरे ।
‘शेयर मार्केट किन घट्यो ? यसको प्रमुख कारण भनेको वित्तीय अनुशासनमा आएको ह्रास नै हो,’ उनले भने । देशको कुल राजस्व आम्दानी भनेको ८ खर्ब रुपैयाँ मात्र भएको र बाँकी बजेट आशावादी बनाइएको उनले दाबी गरे । मकवानपुर र चितवनका पहाडी क्षेत्रको विकटमा रहेका बस्ती स्थानान्तरण गर्न प्रदेश सरकारले काम गर्नुपर्ने उनको भनाइ छ ।