जेठ २२, म्याग्दी । बेनी–जोमसोम सडकमा सिण्डिकेट प्रथाको अन्त्य भएसँगै नयाँ मापदण्ड कायम भएपछि अब २६ सिटभन्दा बढी क्षमताका ठूला सवारी साधनहरु पनि चल्न पाउने भएका छन् । बेनीस्थित जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतवार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो । बेनी–जोमसोम सडकमा यसअघि २६ सिट क्षमताको गाडीमात्र चल्न पाउने प्रावधान थियो ।
विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज गरी २७ फिटसम्म लम्बाइ भएका सवारीसाधनको रुट इजाजत प्रदान गर्न देशभरका यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने निर्णय भएको प्रजिअ लिलाधर अधिकारीले बताए ।
२०७१ वैशाख ८ गते तत्कालीन यातायात व्यवस्थापन समिति धौलागिरिको बैठकले सडकको जोखिमपूर्ण अवस्थालाई आधार बनाउँदै २६ सिटभन्दा बढी क्षमताका यात्रुबाहक सवारीसाधनलाई सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । सो मापदण्डका कारण देशका विभिन्न ठाउँबाट मुस्ताङ भ्रमणमा जानका लागि बस रिजर्भ गरेर आएका पर्यटक तथा तीर्थयात्री आफूले ल्याएको गाडी बेनीमा छोडेर स्थानीय यातायात व्यवसायीको गाडी चढेर जान बाध्य थिए ।
यस्तो व्यवस्थाका कारण घुमाउरो शैलीमा सिण्डिकेटधारी स्थानीय यातायात व्यवसायीलाई सहयोग पुगेको थियो । नयाँ निर्णयअनुसार २७ फिटसम्म लम्बाइ भएका (दुई सापटे) ३२ सिट क्षमता भएका बस सञ्चालन गर्न सकिने जनाइएको छ । यो सडकमा हाल जलविद्युत् र सडक आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्ने ठूला ट्रक सञ्चालन भइरहेका छन् ।