अभियान संवाददाता
वीरगञ्ज । वैदेशिक व्यापारको परिमाणका आधारमा मुलुककै ठूलो नाका वीरगञ्ज यतिखेर मरिच तस्करीको मुख्य ट्राञ्जिट बनेको छ । तेस्रो मुलुकबाट वीरगञ्ज नाका हुँदै भित्रिएको मरिच यही नाकाबाट तस्करी भएर भारततिर जाने गरेको छ ।
मुख्य नाका वीरगञ्जबाटै भारततिर लैजाँदै गरिएको १२ मेट्रिक टनभन्दा बढी मरिच जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार साँझ बरामद गरेको छ । युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकमा मरिच तस्करी भइरहेको सूचनाका आधारमा पछ्याउँदै गएको प्रहरीले शङ्काराचार्यद्वार पार गरिसकेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
भन्सारको चेकजाँच पार गरी भारततर्फ प्रवेश गर्नेक्रममा प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा ठूलो परिमाणमा मरिच फेला परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । मरिच बरामद भएपछि प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । सीमाक्षेत्रमा बरामद मरिचको कागपत्र देखाउन नसकेपछि चालक भारतीय नागरिक धर्मेन्द्रकुमारलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उपरीक्षक ढकालले बताए ।
आवश्यक अनुसन्धानपछि ट्रक र चालकसहित बरामद भएको मरिच कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा पठाइने प्रहरीले बताएको छ । मुख्य नाकाबाटै मरिच बोकेको ट्रक पास भएपछि वीरगञ्ज भन्सारले त्यसबारे छानबिन अघि बढाएको छ । भन्सार अधिकृत मोहन भट्टलाई छानबिनको जिम्मेवारी दिइएको वीरगञ्ज भन्सारका सूचना अधिकारी सन्तोष यादवले बताए ।
गत साउनयता पर्सा प्रहरीले तस्करी हुन लागेको १८ मेट्रिक टन मरिच बरामद गरेको छ । यो अवधिमा मरिच तस्करीमा संलग्न ८ जना मानिस र प्रयोग भएका एउटा ट्रक, २ ओटा ट्याक्टर, एउटा मोटरसाइकलसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।
भारतमा मरिचको आयातमा उच्च भन्सार महशुल लगाइएका कारण तेस्रो मुलुकबाट नेपाल ल्याइएको मरिच भारततिर तस्करी भइरहेको छ । भारतले आफ्ना किसानलाई संरक्षणका लागि आयातित मरिचको अयातमा भन्सार बढाएपछि नेपालबाट तस्करी बढेको हो ।
नेपालमा अहिले यसमा १० प्रतिशत भन्सार महशुल तोकिएको छ । सरकारले हालै ल्याएको बजेटअघि यो ५ प्रतिशतमात्र थियो । भियतनामबाट नेपालमा आयात हुने मरिचमा प्रतिमेट्रिक टन ३ हजार ७ सय अमेरिकी डलर मूल्याङ्कन तोकिएको छ ।
भारतमा यसको आयातमा ७८ दशमलव ५ प्रतिशत राजस्व लिने गरिएको छ । यही राजस्व अन्तरका कारण मूल्यमा पर्न गएको फरकले नेपालबाट भारततर्फ मरिचको तस्करी मौलाएको व्यवसायीहरू बताउँछन् । मरिचको तस्करीमा वीरगञ्जलाई आधार बनाएर व्यापार गरिरहेका केही ठूला व्यवसायी नै सक्रिय रहेको प्रहरी स्रोतको दाबी छ ।