जेठ २३, म्याग्दी । बजेट नहुँदा जिल्ला समन्वय समितिको सभाहललगायत म्याग्दीका निर्माणाधीन अधिकांश सरकारी भवन निर्माण प्रभावित भएको छ । पहिलो चरणमा फ्रेम स्टक्चरका लागि आएको बजेटबाट अधिकांश काम भए पनि फिनिसिङका लागि पठाइएको स्टिमेट अनुसार बजेट प्राप्त नहुँदा निर्माण प्रभावित बनेको जिल्ला प्राविधिक कार्यालयले बताएको छ ।
सभाहललाई पूर्णता दिन थप २ करोड २५ लाख रुपैयाँ बजेट अनुमान गरिएको इन्जिनियर रवीन महर्जनले बताए । बजेट स्वीकृत भए पनि रकम प्राप्त नहुँदा योजना अलपत्र छ । अन्नपूर्ण गाउँपालिका–६ को वडा कार्यालय भवनको पनि काम हुन सकेको छैन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत ठेक्का सम्झौता भएका भवनका लागि बजेट नआएपछि भवन निर्माण प्रभावित बनेको छ । निर्माण कम्पनी भगवती मालिका कन्स्ट्रक्सनसँग ३८ लाख ५० हजार ८ सय १८ रुपैयाँमा योजना सम्झौता भए पनि योजनाका लागि पूरा बजेट नभएपछि योजना अधकल्चो अवस्थामा रहेको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।
अन्नपूर्ण गाउँपालिका–७ को साविक हिस्तान गाविस भवन, धौलागिरी गाउँपालिका–७, ताकमको वडा कार्यालयको भवनसमेत निर्माण हुन सकेको छैन । अन्नपूर्ण गाउँपालिका–५ शिखको साविक गाविस भवन अझै पनि निर्माण सकिएको छैन । ठेक्का सम्झौता पाएका निर्माण कम्पनीले सम्पन्न भएको कामको विवरण दिँदासमेत रकम भुक्तानी नपाएको गुनासो गर्न थालेका छन् ।