नेपाल आयल निगम : ‘कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट’
Jun 8, 2018
 
समाचार
अभियान संवाददाता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने बताएका छन् । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बिहीवार राजीनामा दिएसँगै मन्त्री यादवले आगामी दिनमा निगमको कार्यलाई जिम्मेवारीपूर्वक पूरा गर्ने क्षमतावान् नेतृत्व नियुक्ति गर्न खुला प्रतिस्पर्धाको प्रक्रिया अघि बढाउने तयारी गरेको जानकारी दिएका हुन् ।
खड्काको राजीनामाले निगमको कार्य सहज रूपमा अघि बढाउन सहयोग पुगेकोसमेत उनले बताए । विगतमा विभिन्न विवादका कारण सर्वसाधारणमाझ निगमप्रतिको छवि खराब रहिआएकाले यसलाई पुनः माथि उकास्न उनले निगम व्यवस्थापनलाई आग्रह गरे । आफूले समेत निगमको हितका लागि काम गर्दै पहिलेकै छवि कायम गराउनेतर्फ सदैव अग्रसर रहने उनले प्रतिबद्धता व्यक्त गरे ।
खड्काले दिए राजीनामा
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । उनले आपूर्ति मन्त्रालय बिहीवार आयोजित पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गरेका हुन् ।
पछिल्लो समय सरकारले मुलुकभित्र ९० दिनका लागि पुग्ने इन्धन भण्डारण स्थल निर्माणको कार्य अघि बढाएको थियो । सोही क्रममा निगमले विभिन्न स्थानमा जग्गा खरीद गर्ने क्रममा आर्थिक अनियमितताको आरोप लागेपछि खड्कालाई आपूर्ति मन्त्रालय तानिएको थियो । खड्काले स्वदेशी तथा विदेशी षड्यन्त्रमा आफू परेको बताए । गत कात्तिकमा मन्त्रालय तानिएपछि जिम्मेवारविहीन रहेको भन्दै उक्त पदमा बस्नु अनुचित ठानी राजीनामा दिएको खड्काले स्पष्ट पारे ।
करीब ९ महीनाअघि तत्कालीन सरकारले खड्कालाई बर्खास्त गरेको थियो । तर, उनी गैरकानूनी रूपमा आफूलाई बर्खास्त गरेको भन्दे सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले खड्काको पक्षमा फैसला गरेपछि उनलाई मन्त्रालयमा तानिएको थियो ।