अभियान संवाददाता
काठमाडौं । नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई रुटका विषयमा पहिलोपटक औपचारिक वार्ता हुने भएको छ । वार्ताका लागि भारतीय एयरपोर्ट अथोरिटी अफ इण्डिया (एएआई)को एयर नेभिगेशन प्रमुखसहितको टोली नेपाल आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
भारतीय एयर नेभिगेशनको टोली र नेपालको नागरिक उड्डयन प्राधिकरणको एयर नेभिगेशन टोलीबीच जेठ ३१ र असार १ गते काठमाडौंमा वार्ता हुने प्राधिकरणका कायममुकायम महाप्रबन्धक राजन पोखरेलले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाई रुटका लागि दुवै देशका प्राविधिकलाई छलफलमा बस्न निर्देशन दिएका थिए । सोहीअनुरूप (एएआई) को टोली नेपाल आएको प्राधिकरणले जानकारी दिएको छ । नेपालले यसअघि रुट माग गर्दा भारतले विभिन्न बहानामा रुट दिन अस्वीकार गर्दै आएको थियो । वार्तामा नेपालले पहिलेदेखि माग गर्दै आएको पूर्व र पश्चिममा दुई ओटा हवाई रुटको विषयमा छलफल केन्द्रित हुने पोखरेलले बताए ।
नेपालले पूर्वी रुटमा र दोस्रोमा विराटनगर वा जनकपुरमध्ये एक रुट र पश्चिममा महेन्द्रनगरको रुट माग गर्दै आएको छ । नेपालले रुटमागका विषयमा भारतीय पक्षलाई यसअघि जानकारी दिइसकेकोले यो पटकको वार्ता फलदायी हुनेमा आफूहरू आशावादी रहेको पोखरेलले बताए । नेपालले हाल एकमात्र सिमरा रुट प्रयोग गर्दै आएको छ । सिमराबाट मात्र अन्तरराष्ट्रिय जहाजहरू नेपाल भित्रिँदा एयर ट्राफिक जाम बढ्नुका साथै बढी दूरीका कारण उडान खर्चसमेत महँगो पर्ने गर्दछ । नेपाल र भारतका दुवै नागरिक उड्डयन मन्त्रालयबीच नयाँ एयर रुटका लागि यसअघि सहमति भए पनि दुई देशबीच खुला आकाश सम्झौता (एएसए) हुन नसकेका कारण नेपालले एक मात्र हवाई रुट प्रयोग गर्न बाध्य छ । नेपालले नयाँ रुट प्राप्त गरेमा चीन, श्रीलङ्का, थाइल्याण्ड तथा यूरोपलगायतका देशबाट नेपाल आउने जहाज त्यो रुटबाट आउन सक्नेछन् ।
रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय विमानस्थल भैरहवा, कास्कीमा निर्माण शुरू गरिएको पोखरा क्षेत्रीय विमानस्थल र निजगढमा निर्माण गर्ने भनिएको विमानस्थलका लागि पनि नयाँ हवाई रुट आवश्यक पर्ने प्राधिकरणका अधिकारीले जानकारी दिएका छन् ।