अभियान संवाददाता
जेठ ३०, काठमाडौं । बुधवार नेप्से परिसूचक शून्य दशमलव २३ प्रतिशतले बढेको छ । केही दिन भित्रै अनलाइन प्रणालीको प्रारम्भिक परिक्षण हुने भएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । फलस्वरुप, शेयर बजार प्रभावित भएको हो ।
दिनभरि उतारचढावमा वितेको शेयर बजार अन्त्यमा २ दशमलव ८१ अङ्कले बढेर १ हजार २ सय ४२ दशमलव शून्य ७ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम ३१ दशमलव १४ प्रतिशत घटेर रू.२० करोड ८५ लाखमा सिमित रहेको छ भने बजार पूँजीकरणमा न्यून प्रतिशतले बढेर रू.१४ खर्ब ६५ अर्ब पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव २० प्रतिशतले बढेर २ सय ५० दशमलव ९९ अङ्क पुगेको छ । यस दिन ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ ।
यस दिन ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको रू. १ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको १ सय ७४ पटकको व्यापारमा २३ हजार २ सय २८ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य रू.४८ ले बढेर अन्तिम मूल्य रू. ६ सय २४ पुगेको छ । साथै, नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैङ्कको पनि रू. १ करोड भन्दा बढिको कारोबार भएको छ । राधी विद्युत कम्पनीको मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेर अन्तिम मूल्य रू. १ हजार ५ सय २६ पुगेको छ भने नेपाल हाइड्रो डेभलपर्सको ९ दशमलव ५० प्रतिशत बढेको छ । त्यस्तै, कर्णाली डेभलपमेण्ट बैङ्कको शेयर मूल्य ७ दशमलव २५ प्रतिशत घटेर अन्तिम मूल्य रू. १ सय १५ मा सिमित रहेको छ ।
होटल समूहको परिसूचक शून्य दशमलव ९५, जलविद्युतको शुन्य दशमलव ५५, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५, विकास बैङ्कको शून्य दशमलव ४७ र वित्त कम्पनीको शून्य दशमलव ३६ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ३२, बीमाको शून्य दशमलव २९, बैङ्किङको शून्य दशमलव २३ र व्यापार समूहको शून्य दशमलव १७ प्रतिशत बढेको हो । ‘अन्य’ समूहको परिसूचक भने शून्य दशमलव ४४ प्रतिशत घटेको छ ।
यस दिन ८० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ६१ कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ६१ कम्पनीको ३ हजार ९ सय ७५ पटकको व्यापारमा ६ लाख २० हजार ८ सय १९ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ३४ दशमलव शून्य ९ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री चाप बढेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो १ दशमलव ३१ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।