ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नयाँ हवाई रुटका लागि नेपाली र भारतीय अधिकारीबीच काठमाडौंमा वार्ता

Jun 15, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नयाँ हवाई रुटका लागि नेपाली र भारतीय अधिकारीबीच काठमाडौंमा बिहीवारदेखि औपचारिक वार्ता शुरू भएको छ । नेपालले लामो समयदेखि माग्दै आएको नयाँ एयर रुटका विषयमा वार्ता केन्द्रित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन् । वार्तामा भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेशनका प्रतिनिधि र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रतिनिधि सहभागी छन् । भारतीय विमानस्थल प्राधिकरणका तर्फबाट एयर नेभिगेशन प्रमुख एके दत्ता र नेपाली पक्षबाट नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवम् एयर नेभिगेशन प्रमुख नरेन्द्रबहादुर थापा नेतृत्वको टोली वार्तामा सहभागी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाई रुटका लागि दुवै देशका प्राविधिकहरूलाई छलफल गरिने बताएका थिए र सोहीअनुरूप यो वार्ता भएको प्राधिकरणले जानकारी दिएको छ । शुक्रवार सकिने वार्तामा नेपालले पहिलेदेखि माग गर्दै आएको दुईओटा हवाई रुटको विषयमा छलफल केन्द्रित हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । नेपालले पहिलोमा महेन्द्रनगर र दोस्रोमा विराटनगर वा जनकपुरमध्ये एक रुट माग गर्दै आएको छ । नयाँ रुटबारे भारतीय पक्षसँग पटकपटक भएको वार्ता विनानिष्कर्ष टुङ्गिएका थिए । नेपालले नयाँ रुट नपाएमा नेपालमा निर्माणधीन गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थल तथा सरकारको उच्च प्राथमिकताको निजगढ विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानलाई समेत असर पार्नेछ । नेपालले हाल एकमात्र सिमरा रुट प्रयोग गर्दै आएको छ । सिमराबाट मात्र अन्तरराष्ट्रिय जहाजहरू नेपाल भित्रिँदा एयर ट्राफिक जाम बढ्नुका साथै बढी दूरीका कारण उडान खर्चसमेत महँगो पर्ने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)