विराटनगरमा विश्वकप रौनक : २० हजारदेखि ५ लाखसम्मका टीभीको विक्री
Jun 15, 2018
 
बजार
अभियान संवाददाता
विराटनगर । २१औं संस्करणको विश्वकप रूसमा बिहीवारदेखि शुरू भएको छ । ३२ देशको सहभागिता रहेको उक्त प्रतियोगिताको रौनक विश्वभर छ । रसियामा विश्वकप आयोजना हुँदा विराटनगरमा भने यसको नाममा टीभी र जर्सीको व्यापार बढेको छ । विराटनगरका सबैजसो कपडा पसलमा विश्वकपमा सहभागी देशका झण्डा, रुमाल र जर्सीहरू टाँगिएका देखिन्छन् । त्यही अनुपातमा कारोबार पनि भइरहेको व्यापारीहरू बताउँछन् । जर्मनी, स्पेन, ब्राजिल, अर्जेण्टिना, फ्रान्स, पोर्चुगल, इङल्याण्डलगायत देशका जर्सीको व्यापार बढेको छ ।
विराटनगर–३ का मनोज कार्कीले ४५ हजार रुपैयाँ हालेर ४३ इञ्चको स्मार्ट एलईडी टीभी किने । घरमा टीभी हुँदाहुँदै बजार दौडिएका कार्कीले भने, ‘पहिले घरमा सानो साइजको टीभी थियो, विश्वकप हेर्न ठूलो साइजको टेलिभिजन किनें ।’ मोरङ कटहरी–२ का रामु विश्वास र जलेश्वर थारुले पनि धरान रोडमा रहेको भाटभटेनी सुपर मार्केटबाट ३२ इञ्चको टीभी किनेर लगे । उनीहरूले पनि क्लबको हलमा बसेर विश्वकप हेर्न टीभी किनेको बताए ।
विश्वकपमा ठूला स्क्रीनका टेलिभिजन सेट किन्नेहरूको सङ्ख्या बढेको व्यापारी बताउँछन् । अरू समयमा हप्तामा एउटा पनि टीभी कारोबार नहुनेमा अहिले हप्तामा ४ देखि ५ ओटासम्म विक्री हुने गरेको एबीसी मोबाइल एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक प्रवीण कार्कीले बताए । भाटभटेनी विराटनगरका म्यानेजर विनोद भट्टराई टेलिभिजनबारे बुझ्न आउनेहरू पनि बढेको बताउँछन् । ‘उपभोक्ताहरू ठूला स्क्रीन र एलईडी टेलिभिजन किन्न आइरहेका छन्,’ उनले भने । उनका अनुसार ब्राण्डेड टेलिभिजनमा एलजी, सीजी, सामसुङ, सोनी, यासुडा, राहुलगायत ६ विभिन्न ब्राण्डका टेलिभिजनको इञ्चअनुसार मूल्य १८ हजारदेखि ५ लाख रुपैयाँसम्म पर्छ ।
भाटभटेनीले अहिले विभिन्न कम्पनीका टीभी लिनेहरूलाई ३० प्रतिशतसम्म छुट दिएका कारण पनि दैनिक १० ओटासम्म विक्री हुने गरेको भट्टराईले बताए । केही दिनअघि ओएलईडीको ६५ इञ्चको टीभी ५ लाख २५ हजार रुपैयाँमा विक्री भएको उनले जानकारी दिए ।