अभियान संवाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवारदेखि शुरू गरेको अनलाइन ट्रेडिङ प्रणाली परीक्षणको पहिलो दिन करीब १० ओटा कारोबारलाई सफलतापूर्वक प्रणालीमा पठाएको छ । शुरूको दिन उक्त प्रणालीको सर्भर तथा हार्डवेयरबारे बुझ्न र सिक्न समय लागेकोले सीमित कारोेबारलाई मात्र प्रणालीमा ल्याएको हो । नेप्सेले पहिलो चरणमा ५ ओटा ब्रोकर कम्पनीलाई लिएर परीक्षण शुरू गरेको छ । उक्त प्रणाली प्रभावकारी भए नभएबारे अध्ययन गर्न नेप्से र नेपाल ब्रोकर सङ्घसँगको समन्वयमा अनलाइन कार्यान्वयन समन्वय समिति गठन भएको थियो ।
समितिका संयोजक तथा सेक्युर्ड सेक्यूरिटिज (ब्रोकर नं ३६) का कार्यवाहक अध्यक्ष सन्तोष मैनालीले पहिलो दिनको परीक्षण सफल भएको र त्यसलाई निरन्तरता दिने बताए । उनले भने, ‘पहिलो दिन अनलाइन ट्रेडिङ सफ्टवेयर निर्माता वाईको कम्पनी र नेप्सेका विज्ञहरूबाट सर्भर सञ्चालनबारे सिक्नमा नै धेरै समय छुट्याउनु परेकाले ८/१० ओटा कारोबार मात्र प्रणालीमार्फत गरेका हौं ।’ हाल प्रणालीको परीक्षणका लागि छनोट गरिएका सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नं ३६), त्रिशक्ति सेक्युरिटिज (४८), एबीसी सेक्युरिटिज (१७), लिञ्च स्टक मार्केट (४१), मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी (११) बाट सो कारोबार भएको छ ।
यो परीक्षणबाट प्रणालीको कमीकमजोरी के छन् र केकेमा सुधार गर्नुपर्छ भन्नेबारे नेप्सेले प्रतिक्रिया लिएर सुधार गर्ने वरिष्ठ आईटी अधिकृत निरञ्जनसिंह नायकको भनाइ छ । उनका अनुसार यो मोक ट्रेडिङ परीक्षण भएकाले नेप्से र ब्रोकरबीचको प्रणालीमा टेष्ट गरिन्छ । अनलाइन प्रणालीमा ल्याउन लागेको म्याचिङ इञ्जिन, एक्सचेञ्ज सर्भर तथा ब्रोकर सर्भरबीचको नेटवर्किङ (सञ्जाल), कारोबार प्रणाली, सदस्यता तथा सुपरिवेक्षणसम्बन्धी व्यवस्थालगायत प्रविधिबारे परीक्षण भइरहेको उनले जानकारी दिए ।